लमजुङ क्याम्पसमा झडप, अनेरास्ववियुले बढ्ता गरेपछि नेविसंघसँग हानाहान

बेशीसहर । कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)मा विद्यार्थीका दुई समूहबीच झडप भएको छ ।

लमजुङको सुन्दरबजारस्थित क्याम्सपमा शनिबार भएको झडपमा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीबीच झडप भएको थियो ।

झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि पोखरा र चितवन लगिएको छ ।

सामान्य घाइतेहरूको सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा उपचार भएको छ । उनीहरू घर फर्किएका छन् ।

झडपका क्रममा विद्यार्थीले फलामे रड र क्रिकेटको व्याटलगायतले एकअर्कालाई प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विद्यार्थी मदन रिजाल (टाउकोमा चोट) र बेदान्त घिमिरे (देब्रे हात भाँचिएको) को गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

विराज सुवेदी (छात्राबासको छतबाट फालिएका, नाकको हड्डी भाँचिएको) र टीकाराम ढकाल (नाक भाँचिएको) को चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएको र उपचार भइरहेको छ ।

फागुन ८ देखि क्याम्पसमा बीएसएजीको कक्षा सञ्चालन हुँदैछ । सोही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच विवाद उत्पन्न भएको बताइएको छ ।

नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति असिम वस्तीले अनेरास्ववियुका विद्यार्थीसँग विवाद हुँदा झडप भएको बताएका छन् ।

वस्तीले भने, ‘क्याम्पसमा भर्ना हुन आउने २ जना नेविसंघका विद्यार्थीलाई अनेरास्ववियुले चितवन गएर ल्याएछन् । त्यही विषयमा कुरा गर्न जाँदा दोहोरो झडप भएको हो ।’

वस्तीले २ जना छतबाट हाम फालेर घाइते भएको भन्ने सुनिएको र अरु थाहा नभएको बताएका छन् ।

Published : Saturday, 2024 February 10, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया