थारुहरूले जिन्दगीभरि बनाएको जाँड कोरियाबाट आयात भइरहेको छ : मुख्यमन्त्री चौधरी

लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको एउटै व्यक्ति व्यापार, उद्योग र बैङ्क सञ्चालक हुँदा समस्या आएको बताएका छन् ।

शनिबार लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले एउटै व्यक्ति सबैतिर हुँदा समस्या भएको बताए । बैंकको व्याजदर बृद्धि भएको विषयमा चौधरीले घुमाउरो भाषामा एउटै व्यक्तिले उद्योग, व्यापार र बैंक सञ्चालन गरेका कारण समस्या भएको बताएका हुन् ।

उनले आर्थिक विकासका लागि नेता र उद्योगी सुध्रिनुपर्ने समेत बताएका छन् । मुख्यमन्त्री चौधरीले एउटै व्यक्ति व्यापार, उद्योगी र बैङ्क सञ्चालक पनि हुने अनि बैङ्कले ब्याजदर बढायो भनेर गुनासो गर्नु अलि नमिल्दो भएको बताएका छन् ।

उनले भने, ‘करबाट सरकार चल्छ, त्यसैले उद्योग विस्तार र प्रवर्द्धन गर्नका लागि पनि लुम्बिनी प्रदेश सरकार उद्योगीको साथमा छ ।’

उद्योगी र सरकारबीच व्यापक छलफल गरेर उद्योगका समस्या समाधान गर्न आफूहरू तयार रहेको मख्यमन्त्री चौधरीले बताएका छन् ।

उनले स्थानीय उत्पादन वृद्धिलाई प्राथमिकता दिएर रोजगारी, उद्योग र उत्पादन बढाउने गरी सरकार अगाडि बढेको बताएका छन् ।

मुख्यमन्त्री चौधरीले घरेलु मदिरालाई ब्राण्डिङ्ग गरेर विश्वका देशमा निर्यात गर्ने र समुदायमा आर्थिक वृद्धि गर्ने योजना प्रदेश सरकारको रहेको बताएका छन् ।

नेपालमा उत्पादन हुने महुवाको मदिरालाई विश्व बजारमा पुर्‍याउन आफूले पहल गरिरहेको मुख्यमन्त्री चौधरीले बताएका छन् ।

उनले भने, ‘थारुहरूले जिन्दगीभरि जाँड बनाए पनि अहिले कोरियाको जाँड नेपालमा बिक्री भइरहेको छ ।’

उनले नेपाली जाँड संसारभर बिक्री गर्न सक्ने सम्भावना रहेको समेत बताएका छन् ।

Published : Saturday, 2024 February 10, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया