ईन्स्पेक्टर बिनु शाहीले बबाल गरेपछि दुई पत्रकार पक्राउ, पत्रकार महासंघद्वारा चर्को विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारद्वय ऐश्वर्या कुँवर (आभाषकुञ्ज दैनिकका) र पुष्कर भट्ट (माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता)लाई प्रहरीले साइबर क्राइमको आरोपमा पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले शनिबार विज्ञप्ति जारी गरेर विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको छ ।’

‘त्यसको दुरुपयोग गर्दै जुन उद्देश्य र प्रयोजनका लागि कानुन ल्याइएको हो, त्यसलाई गलत तरिकाबाट प्रयोग गरी प्रहरीले पत्रकारद्वयलाई पक्राउ गरिएको यो घटनाले महासंघलाई अत्यन्त दु:खी बनाएको छ’, महासंघले भनेको छ ।

‘महासंघ विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को जुन प्रयोजनका लागि ल्याइएको सोही प्रयोजनका निम्तिमात्र प्रयोग गरी पत्रकारद्वयको तत्काल रिहाइका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम हो’, महासंघले भनेको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधीे कार्यमा संलग्न प्रहरीमाथि कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।’

यसैबीच, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार दुईजना पत्रकारलाई पक्राउ गरेको जनाएको छ ।

साइबर अपराध मुद्दामा जाहेरीपछि प्रहरीले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक बिनु शाहीमाथि यातनाको आरोप लगाएको भिडिओ पत्रकार पुष्कर भट्टले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए ।

त्यसपछि निरन्तर उनले प्रहरी निरीक्षक शाही र जिप्रका कञ्चनपुरका प्रमुख एसपी कमल थापाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

पत्रकार कुँवरले पनि प्रहरी निरीक्षक (ईन्स्पेक्टर) बिनु शाही र पूर्व प्रहरी जवान नरेन्द्र नाथको विवादलगायत प्रहरीविरुद्धको समाचार फेसबुकमा निरन्तर साझा गरिरहेकी थिइन् ।

कञ्चनपुर प्रहरीले विज्ञप्ति जारी गरेर नाथको आरोपको खण्डन गर्दै भ्रमपूर्ण समाचार र स्टाटस नलेख्न चेतावनी दिएको थियो । त्यस्तो लेखेको पाएमा प्रचलित कानूनबमोजिम सजाय हुने प्रहरीको विज्ञप्तिमा उल्लेख थियो ।

भट्ट माउन्टेन टेलिभिजन र कुँवर आभाषकुञ्ज दैनिकमा कार्यरत छन् । दुई पत्रकार समातिएपछि कञ्चनपुर प्रहरीको आलोचना भइरहेको छ । दुई पत्रकारविरुद्ध प्रतिशोधपूर्ण कारबाही गरेको भए प्रहरीविरुद्ध लडाइँ लड्ने पत्रकारहरूले चेतावनी दिएका छन् ।

ईन्स्पेक्टर र जवानको यस्तो थियो विवाद

कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटेना, कञ्चनपुरका नरेन्द्र नाथले १९ माघमा प्रहरी जवानबाट राजीनामा दिएपछि ईन्स्पेक्टर बिनु शाहीसँगको विवाद बाहिर आएको छ ।

राजीनामा दिएपछि माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीमाथि गम्भीर आरोप लगाएका थिए ।

कञ्चनपुरको मुद्दा फाँटमा कार्यरत शाही विवादमा तानिएकी छिन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा गएका बेला शाहीले बिनाकारण थुनेर यातना दिएको नाथको आरोप थियो ।

प्रहरी निरीक्षक शाहीको यातनाका कारण प्रहरी जवानबाट आफूले राजीनामा गर्न बाध्य भएको नाथको गुनासो छ ।

कञ्चनपुर प्रहरीले नाथले आफूखुसी हिरासत कक्षमा गएर थुनुवालाई गुट्खा दिइरहेको पाइएकोले कारबाहीका लागि बाजुरा प्रहरीलाई पत्राचार गरिएको जनाएको छ ।

बिदा थप्न जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर गएको बेला झुटा आरोप लगाएर आफूलाई थुनेर यातना दिएपछि जागिर छोड्नु परेको नाथको भनाइ थियो ।

नाथले गुट्खा खाने आफ्नो बानी भएकाले गुट्खा खल्तीमै रहने गरेको बताएका छन् । उनले गुट्खा थुनुवालाई दिन गएको भन्ने आरोप झुट्टा रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा नाथले दुईपटक राजीनामा दिएका छन् । पुस २२ गतेदेखि नाथ कञ्चनपुर प्रहरीको हिरासतमा थिए ।

Published : Saturday, 2024 February 10, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया