माघ १२ को काण्डबारे बयान लिन राज्य व्यवस्थाले गृहमन्त्री र आईजीपीलाई बोलायो, के भएको थियो ?

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति सम्बेदनशील क्षेत्रमा भएको घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरसँग बयान लिन लागेको छ ।

समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवरलाई विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीहरूबीच भएको अप्रिय घटनाका विषयमा जानकारी लिन लागेका हुन् । आइतबार बिहान साढे १० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा सभापति खतिवडाले बैठक बोलाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १२ गते शुक्रबार नेपालबाट प्रस्थानविन्दुमा प्रहरी र अध्यागमनका अधिकृतबीच झडप भएको थियो ।

अध्यागमनको काम सकिएपछि प्रहरीले अन्तिमपटक सुरक्षा जाँच गर्छ । करिब १२ बजेर ५ मिनटमा अध्यागमन अधिकृत रातो ज्याकेट लगाएका छाया मोक्तान प्रहरीको सुरक्षा जाँच पास हुँदै यात्रुको प्रतीक्षालयतिर गएका थिए । यात्रुसँगको सम्पर्कमा जाने कर्मचारीको पनि प्रहरीले सुरक्षा जाँच गर्दै आएको छ ।

मोक्तानलाई पनि जाँचमा खटिएका प्रहरी जवान रविरञ्जित गुप्ताले जाँच गर्न खोजेका थिए । सुरक्षामा खटिएका अर्का एक प्रहरी अधिकृतका अनुसार मोक्तानले जवान गुप्तालाई शरीर खानतलासी गर्ने हैसियत नभएको भन्दै गाली गरेका थिए । मोक्तानले जाँचमा खटिएका प्रहरी जवान गुप्तासँग विवाद गरेको सीसी क्यामेरा दृष्यमा देखिन्छ ।

प्रहरी जवानसँग अधिकृत मोक्तानले विवाद गरेको देखेपछि अन्य प्रहरी पनि त्यही आइपुग्छन् । सबैसँग मोक्तानको विवाद हुन्छ । त्यही क्रममा मोक्तानले प्रहरी जवानमाथि लात्ताले हानेको पनि सीसी क्यामेरा दृष्यमा देखिएको छ ।

त्यही क्रममा एक प्रहरीले मोक्तानलाई पनि धकेलेका छन् । विवाद चर्किएपछि सबै प्रहरीको एक समूह आएर मोक्तानलाई नियन्त्रणमा लिएर लैजान्छ ।

प्रहरी जवानले आफूमाथि हातपात गरेको मोक्तानको आरोप छ । विवाद चर्किएपछि अध्यागमन कार्यालय प्रमुख गोगन हमालसहितका कर्मचारीहरू प्रहरीको सीसी क्यामेरा कोठामा गएका छन् ।

प्रहरीका अनुसार सीसी क्यामेरामा दृष्य हेरेपछि अध्यागमन कर्मचारी आक्रोशित भए । विमानस्थलकै अर्का एक प्रहरी अधिकृतका अनुसार सीसी क्यामेरा कोठामा पनि अध्यागमनका कर्मचारी र प्रहरीबीच चर्को विवाद भएको थियो । जसमा अध्यागमन प्रमुख हमाल स्वयं आफैं निकै आक्रोशित देखिन्छन् ।

सीसी क्यामेरामा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीमाथि दुर्व्यवहार हुँदा सीसी क्यामेरा राख्ने तीनवटा स्ट्यान्डमा क्षति पुगेको छ । विवाद समाधानका लागि अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ पनि विमानस्थल गएका थिए ।

प्रहरी र अध्यागमन अधिकृतबीच यति विवाद आउनुको पछाडि प्रहरीले चलाएको कारबाही नै जोडिएको छ । भिजिट भिसाका नाममा विदेश जानेहरूलाई साथ दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर कारबाही चलाइरहेको छ ।

दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । खड्काको साथबाट विदेश पठाउने ५६ जनाको सूची बरामद भएको थियो । त्यसपछि पनि अध्यागमन कर्मचारीले आफूहरुमाथि हस्तक्षेप भएको भन्दै कामै ठप्प पारेका थिए ।

विमानस्थलमा खटिएका अध्यागमन कर्मचारी र प्रहरी दुवै गृह मन्त्रालय मातहतका संयन्त्रहरू हुन् । अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँमा खटिएका राज्य संयन्त्रबीचै सुरक्षा मापदण्ड पालनाकै लागि यति धेरै विवाद हुनु स्वभाविक छैन ।

घटनाबारे छानबिन गर्न थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सदस्यमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला छन् । सदस्यसचिवमा गृह मन्त्रालयका उपसचिव कुलबहादुर जिसी छन् ।

Published : Saturday, 2024 February 10, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया