आयोगद्वारा बालकुमारी घटनाबारे मन्त्रीसँग बयान

काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग बयान लिएको छ ।

केही दिन अगाडि सुटुक्क सिंहदरबारस्थित कार्यालयमा आयोगले मन्त्री ज्वालासँग बयान लिएको स्रोतले जनाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीलाई प्रदर्शनकारीले जलाइदिएका थिए । त्यसपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

पुस १३ गते भएको घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । बालकुमारी काण्डलाई लिएर ललितपुरका तत्कालीन एसएसपी सिद्धिविक्रम शाह र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको पनि सरकारले जिम्मेवारी खोसेको थियो ।

सरकारले पुस १६ गते बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा समिति बनाएको थियो । समितिमा प्रहरीका पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सह–सचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

Published : Friday, 2024 February 9, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया