प्रहरी सहायक हवल्दारको मृत्यु भएपछि छानबिन समिति गठन

काठमाडौं । गाडीबाट लडेर मृत्यु भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको विषयमा छानविन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरले छानबिन समिति बनाएको छ ।

शुक्रबार उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी अनिल अधिकारी सदस्य रहेका छन् ।

बिहीबार राति ११:१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर प्रहरी सहायक हवल्दार एलजीको मृत्यु भएको थियो ।

सहायक हवल्दार एलजीको उपचारका क्रममा मृत्यु भएको थियो । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने क्रममा पछाडिबाट सडकमा खस्दा सहायक हवल्दार एलजीको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ । भ्यानका चालक प्रहरी सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ ।

Published : Friday, 2024 February 9, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया