व्यूरोद्वारा काठमाडौंमा मनोद्धिपकसहित चारजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, काठमाडौंले मनोद्धिपक लागु पदार्थ एम्फेटामाईन २०० ट्याब्लेट (१९.९४ ग्राम) र नियन्त्रित लागुऔषध ६६०० एम्पुलसहित ४ जना कारोवारीलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरोको निरन्तर निग्रानी तथा कार्वाहीको क्रममा अवैध लागुऔषध कारोवार गर्ने व्यक्तिहरूलाई लागुऔषधसहित पक्राउ गरिएको व्यूरोद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका चारजनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

व्यूरोबाट खटिएको प्रहरी टोलीले माघ २४ गते बुढानिलकण्ठस्थित सडक किनारामा बंगलादेशी नागरिक वर्ष ३५ को मोहमद मामुन खान नाम गरेको व्यक्तिलाई फेला पारेको छ ।

खानको साथबाट लागुऔषध एम्फेटामाईन ९७ ट्याब्लेट (९ ग्राम ६५० मिलिग्राम) बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानका क्रममा बंगलादेशी नागरिक वर्ष २७ को मोहमद जोनी खानलाई बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा डेरामा फेला पारी खानतलासी गर्दा एम्फेटामाईन १०३ ट्याब्लेट (१० ग्राम २९० मिलिग्राम) सहित फेला पारी बरामद गरिएको छ ।

कोठाबाट मनोद्धिपक लागुपदार्थ एम्फेटामाईन २०० ट्याब्लेट (१९.९४ ग्राम) फेला परेको छ ।

खड्कागाउँस्थित सडक किनारमा लम्जुङको बेसीशहर नगरपालिका वडा नं. ३ ठेगाना भएका वर्ष ४३ का बिक्रमबहादुर थापा र धादिङ्गको सिद्धलेक गाउँपालिका वडा नं. २ स्थायी ठेगाना भएका वर्ष ३९ को पित नारायण श्रेष्ठलाई बा.६ च. ३८३ नम्बरको कारसहित फेला पारी खानतलासी गर्दा कारभित्र लुकाई राखेको लागुऔषध ६०० एम्पुल फेला पारी पक्राउ परेका छन् ।

प्रतिवादी नारायण श्रेष्ठको जिल्ला काठमाडौं चन्द्रागीरी नगरपालिका वडा नं. ५ मा रहेको डेराकोठा खानतलासी गर्दा डेराकोठाबाट समेत थप नियन्त्रित लागुऔषध ६००० एम्पुल फेला पारेको छ ।

कोठाबाट नियन्त्रित लागुऔषध ६,६०० एम्पुल बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

Published : Friday, 2024 February 9, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया