जग्गा हिनामिना काण्डमा अर्बपति विनोद चौधरीको संलग्नताबारे कांग्रेसको जवाफ माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेस सांसद समेत रहेका अर्बपति विनोद चौधरीको संलग्नता रहेको टिप्पणी गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले जग्गा हिनामिना प्रकरण सम्बन्धमा चौधरीको विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।
सुवालले उद्योगीको भेषमा चौधरी ग्रुपले बाँसबारीको जग्गा हडपेको सम्बन्धमा कांग्रेसको धारणा माग गरेका छन् ।

‘उद्योगी व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा हत्याएको र सो विषयमा यस संसदका सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेकाले स्पष्ट पार्न अनुरोध गर्दछु’, सांसद सुवालले भने ।

बाँसबारीको जग्गा हत्याउनका लागि खडा गरिएको च्याम्पियन फूटवेरको शेयर सदस्य विनोद चौधरीको सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत छानबिन गरिरहेको छ ।

बुधबार नै संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्ने बताएका थिए ।

बाँसबारी छाला जुत्ताको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई अदालतेको आदेशअनुसार प्रहरीले जमानी धरौटीमा छाडेको छ । उनीसँग अन्य दुई जना पनि छुटेका छन् । अरुण चौधरी अर्बपति विनोद चौधरीका भाइ हुन् ।

Published : Wednesday, 2024 February 7, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया