कांग्रेसको महासमितिका लागि केन्द्रीय कार्यालयमा नाम दर्ता गराउन आदेश, ३ हजार र दुइटा फोटो चाहिने

काठमाडौं । नेपाली कांग्रेसले फागुनको ५ र ६ गते पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित केन्द्रीय कार्यालय महासमिति सदस्यहरू उपस्थित भएर ‘सहभागी नाम दर्ता’ गराइ प्रवेशपत्र लिन आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जिल्ला कार्यसमितिहरूलाई मंगलबार गरिएको परिपत्रमा महासमिति सदस्यहरू स्वयं उपस्थित भइ नाम दर्ता गराउन निर्देशन दिइएको छ ।

कांग्रेसले चौधौ महाधिवेशनबाट विधान पारित गर्ने र नेतृत्व चयन गर्ने कार्य सम्पन्न भएता पनि पार्टीका विविध नीतिका बारेमा छुट्टै नीति महाधिवेशन गर्ने तयारी गर्दागर्दै महासमितिको बैठक बस्ने समय पनि भइसकेको र नीति महाधिवेशनले गर्ने काम महासमितिले गर्न सक्ने वैधानिक प्रावधान रहेकोले नीति महाधिवेशनले गर्ने कार्य गर्ने गरि महासमितिको बैठक २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय भएको छ ।

परिपत्रमा भनिएको छ, ‘महासमिति सदस्यहरूले २०८० फागुन ५ र ६ गते पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा स्वयं उपस्थित भइ सहभागी नाम दर्ता गराइ प्रवेशपत्र लिइ सक्नुपर्नेछ ।’

‘प्रवेशपत्र लिन आउँदा आफू महासमिति सदस्य भएको प्रमाणपत्र वा सम्बन्धित जिल्लाका सभापतिद्वारा प्रमाणित गरिएको कागजात समेत देखाउनुपर्नेछ’, कांग्रेसले भनेको छ, ‘प्रवेशपत्र विना सहभागी सदस्यहरूले महासमिति बैठकमा भाग लिन पाउनु हुनेछैन । आफूलाई प्राप्त प्रवेशपत्र महासमिति अवधिभर आफ्नो साथमा अनिवार्य रुपले राख्नुपर्नेछ ।’

‘महासमिति सदस्यले सहभागिता शुल्क रु. ३ हजार अनिवार्य रुपले नाम दर्ता गर्दा बुझाउनुपर्नेछ’, कांग्रेसले भनेको छ ।

‘प्रत्येक सहभागी सदस्यले हालसालै खिचेको अटो साइजको २ प्रति फोटो पनि अनिर्वाय रुपले साथै दिइ अउनुपर्नेछ’, कांग्रेसले भनेको छ, ‘फोटो नभइ प्रवेशपत्र दिइनेछैन ।’

कांग्रेसले भनेको छ, ‘महासमिति अवधिभर महासमिति सदस्यहरूलाई बिहानको नास्ता, बिहानको खान र दिउँसोको खाजाको व्यवस्था केन्द्रबाट गठित भोजन व्यवस्थापन उप–समितिले गर्नेछ । आवासको व्यवस्था भने महासमिति सदस्य स्वयंले नै गर्नुपर्नेछ ।’

‘मिति २०८० फागुन ७ गतेदेखि गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुने उद्घाटन समारोह पार्टीका साथीहरूको व्यापक सहभागितामा भव्यताका साथ सम्पन्न गर्ने निर्णय भएको छ’, कांग्रेसले भनेको छ, ‘यसका लागि जिल्लाका महत्वपूर्ण स्थानहरूमा २०८० फागुन २ गतेदेखि नै व्यानर, तुल, पर्चा, फ्लेक्स तथा सामाजिक सञ्जालको सदुपयोग गरि विविध कार्यक्रमका साथ महासमिति बैठकको व्यापक प्रचार प्रसार गर्ने ।’

Published : Wednesday, 2024 February 7, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया