भैँसी र दुध बेचेको ४/५ लाखकाे स्रोत खोजेर पुलिसले किसानलाई थुन्छ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् सांसद रामहरि खतिवडाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग व्यापारी तर्साउन अड्डाको रुपमा रहेको भन्दै चिन्ता जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै सभापति खतिवडाले विभागले व्यापारीलाई तर्साउने गरेकोमा चिन्ता जनाए ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा मैले केही संशोधन प्रस्ताव पनि राखेको थिएँ । समितिबाट सर्वसम्मत पारित भएर आएको विधेयक हो । मेरो व्यक्तिगत धारणा फरक छ ।’

‘नेपालमा लगानीको वातावरण सिर्जना गर्न पुँजी भित्र्याउनु पर्छ भन्ने पक्षमा म व्यक्तिगत पक्षमा जान चाहन्छु’, खतिवडाले भने ।
‘केही कुराहरू छन् । बाहिरबाट पुँजी ल्याउँदा हातहतियार, लागुऔषध जस्ता चिजबाट ल्याइएको सम्पत्तिलाई टाइट गर्ने, अन्य सम्पत्तिको हाकमा लगानीको वातावरण सिर्जना गर्न अलिक खुकुलो हुनुपर्छ कि भन्ने धारणा छ’, उनले भने ।

‘सम्पत्ति शुद्धीकरण भन्ने जुन विभाग छ, त्यो अर्को विभागको भ्याट जस्तो, व्यापारीहरूलाई तर्साउने जस्तो, थर्काउने जस्तो र अरु बेनिफिट उसले लिने अर्को फाइदाको निकाय बन्ने जस्तोमा जान नपाओस् । त्यसमा सरकारले बढि ध्यान दिनुपर्छ’, सभापति खतिवडाले भने ।

‘यो एउटा व्यापारी तर्साउने अड्डाको रुपमा विसित हुन थाल्यो भने लगानीको वातावरण अझ कमजोर हुनेछ’, उनले भने, ‘हामीले पुँजी लगानी चलायमान गर्न अझ कमजोर अवस्थामा पुग्ने छौँ ।’

उनले भने, ‘अहिले गाउँको किसानले भैँसी बेचेर बाटोमा हिँड्दैछ भने ४/५ लाख भेटियो भने पुलिसले समाउछ । तेरो आय स्रोत के हो ? कहाँबाट ल्याइस भनेर समात्छ ।’

‘मैले घाँस खुवाएर भैँसीको दुध बेचेर, भैँसी बेचेर यो पैसा ल्याएको भन्यो भने पुलिसले पत्याउँदैन’, सांसद खतिवडाले भने, ‘अनि त्यो किसानलाई मनिलन्डरिङ अन्तरगत जेलमा लगेर हाल्छ । यो पद्धति अन्त्य गर्न पनि हामीले बनाएको कानूनले सहयोग पुग्ने वातावरण सिर्जना गरोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

उनले भने, ‘क्यासिनोको कुराहरू आएका छन् । हामीले क्यासिनो खोल्न कहिँ तीन किलो मिटर पर दियौँ होला । पुरानालाई पाँच किलोमिटर भनियो होला । खोल्न चाहिँ हामी बारम्बार दिने । क्यासिनोले तिर्ने रोयल्टी कहिल्यै नलिने र अर्बौं रुपियाँ क्यासिनोबाट नलिने प्रवृत्तिको विकास भयो भने मुलुक कहाँ जान्छ ? त्यतातिर पनि सरकारको ध्यान जाओस् ।’

Published : Wednesday, 2024 February 7, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया