प्रचण्डलाई हटाएर माधवलाई प्रधानमन्त्री बनाउन प्राधिकरणभित्र गोप्य डिजाइन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार छिटोभन्दा छिटो ढाल्नुपर्ने बताउने गरेका छन् ।

आफू निकटका कर्मचारी, व्यापारी र विचौलियाहरूसँगको भेटघाट तथा बैठकहरूमा दाहाललाई प्रधानमन्त्रीबाट हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राख्ने गरेको उच्च स्रोतले जनाएको छ । अधिकारीले माधवको पक्षमा निकै लबिङ गरिरहेको बजारमा चर्चा छ ।

एमाले पृष्ठभूमि भएका महानिर्देशक अधिकारीलाई केपी ओलीले बालकोट छिर्न दिएका छैनन् । बालकोट छिर्न नपाएपछि अधिकारीले माधव नेपालसँग निकटको सम्बन्ध बनाएका छन् ।

पूर्वमन्त्री प्रेम आलेले माधवसँग प्रदीपको राम्रो सम्बन्ध बनाइदिएका हुन् । माधवको इच्छा निजगढ विमानस्थल बनाउनेमा छ । सोही कारण माधव र प्रदीपको कुरा मिल्न गएको छ ।

दाहालको सरकार ढालेर नेपाललाई प्रधानमन्त्री बनाउन अधिकारी गोप्य बैठकहरू गराउँदै हिँडेको चर्चा प्राधिकरणभित्र छ ।

महानिर्देशक अधिकारीले नेपाली कांग्रेसको जोडदार रुपमा विरोध गर्दै आएको आरोप छ । कांग्रेसका शीर्ष नेताहरूविरुद्ध गालीगलौज गराएको आरोप पनि छ ।

महानिर्देशक अधिकारीले आफू निकटका पत्रकारहरूसँग नियमित भेटघाट गर्दै आएका छन् । ती भेटहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बदनाम गर्ने, कांग्रेसका केही शीर्ष नेताहरूको बदनाम गर्ने, नेपाल वायुसेवा निगमको बदनाम गर्ने जस्ता कुरा हुने गरेको चर्चा प्राधिकरणमा छ ।

महानिर्देशक अधिकारीले अहिले पनि नेपाल वायुसेवा निगमसँग ग्राउण्ड हेन्डलिङ्ग खोसेर चिनियाँ लगानीको हिमालयन एयरलाईन्सलाई ग्राउन्ड हेन्डलिङ्ग दिन चलखेल गरेको चर्चा छ ।

अडानीसंग सिईओ बन्न अधिकारीले निकै बार्गेनिङ्ग गरेको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीले माधव नेपाललाई प्रधानमन्त्री बनाएर वन मन्त्रालय लिएर निजगढको जंगलमा सखाप पार्ने योजना बनाएको पनि चर्चा छ ।

पूर्वमन्त्री प्रेम आले, विवादास्पद व्यापारी दीपक मल्होत्रा र चौधरी ग्रुपसंग अधिकारीले दिनहुँ जस्तो भेटघाट र कुराकानी गर्दै आएको स्रोतको दाबी छ ।

प्याराग्लाईडिङ्ग काण्डमा उप–सचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहरिएपछि महानिर्देशक अधिकारीलाई राहत मिलेको छ । प्रमोदले प्याराग्लाइडिङ्ग काण्डमा मुख्य योजनाकारको नाम लिएनन् । प्रमोदले नाम लिएको भए धेरै भीआईपी र प्राधिकरण नेतृत्वको ढाड फुस्किने थियो ।

Published : Wednesday, 2024 February 7, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया