वीरगञ्जमा बाराका गुप्ता पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको रकमसहित प्रहरीले वीरगञ्जबाट मानिसहरू पक्राउ गरेको छ ।

पर्साको वीरगंज महानगरपालिका–१५ भेडियाहीबाट स्रोत नखुलेको नगद ४ लाख ५० हजार रूपियाँसहित बारा फेटा गाउँपालिका–३ बैरिया बस्ने ३८ वर्षीय बीरेन्द्रप्रसाद गुप्तालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २–०३ प ५६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गुप्ताले जिन्स पाईन्टको खल्ती र जुत्ताभित्र लुकाई राखेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उता, झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर विमानस्थलबाट स्रोत नखुलेको ३० हजार भारतीय रूपियाँ, ९ हजार २ सय अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरू तथा विभिन्न बैंकका एटिएम कार्डसहित भारत आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरदेखि काठमाडौं जान लागेका रावको लगेज जाँच गर्ने क्रममा उक्त परिमाणको नगद फेला पारी पक्राउ गरेको हो ।

Published : Tuesday, 2024 February 6, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया