संचार सम्बन्धि विधेयक व्यापक छलफल गरेर ल्याउन महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले संचारमाध्यमसंग जोडिएका विधेक ल्याउँदा सरोकारवाला पक्षसंग व्यापक छलफल गरेर मात्रै ल्याउन सरकारसंग आग्रह गरेको छ ।

काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले विविध विषयमा छलफल गरि निर्णयहरू समेत गरेको छ ।

बैठक कार्यवाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतमा बसेको हो । सचिव गोविन्दप्रसाद चौलागाईंद्वारा जारी विज्ञप्तिअनुसार महासंघको २७औं महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीब्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निणर्य गरेको छ ।

महासंघले महाधिवेशनको प्रयोजनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ ।

नेपाल सरकारले संसदको चालू अधिवेशनमा सञ्चार विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रुपमा लिँदै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र हाम्रा अभ्यासहरूको आधारमा अघि बढाउन महासंघले सरकारसंग माग गरेको छ ।

विधेयकहरू महासंघसहितका सरोकारवाला पक्षहरूसंगको व्यापक छलफल र परामर्श गरेर संसदीय प्रक्रियामा लैजान माग गरिएको छ ।

समग्र सञ्चार क्षेत्र नै गम्भीर संकटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्न महासंघले माग गरेको छ ।

स्वरोजगारमूलक सञ्चारमाध्यमले संकटको समाना गरेको यथार्थलाई ध्यान दिँदै महासंघले लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियाहरूलाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न माग गरेको छ ।

Published : Tuesday, 2024 February 6, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया