कांग्रेसको औपचारिक कार्यक्रमहरू सबै स्थगित

काठमाडौं । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनसँग नेपाली कांग्रेसले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको छ ।

मंगलबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बुढाथोकीको निधनमा सबै कार्यक्रम स्थगित गरेको हो ।

माघ २३, २४ र २५ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति निधन भएको थियो ।

माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द हुने पनि कांग्रेसले जनाएको छ ।

१३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको गर्ने कांग्रेसले निर्णय गरेको छ ।

समुदायमा कांग्रेस अभियान पनि स्थगित भएको छ । ‘पूर्वनिर्धारित माघ १३—२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको छ ।

महामन्त्री गगनकुमार थापाको संवाद यात्रा पनि स्थगित भएको छ ।

Published : Tuesday, 2024 February 6, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया