होटेल, रेस्टुराँजस्ता सेवा व्यवसायलाई करमा जोड्नुपर्छ : अर्थमन्त्री डा.महत

कृष्णनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको बताएका छन् ।

मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालयको निरीक्षणपछि कर्मचारीहरूलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

‘को, कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ’, मन्त्री डा.महतले भने ।

गरेका कामबाट देखिएका परिणामका आधारमा कर्मचारीको मूल्यांकन हुने उनले बताएका छन् । व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्यांकन गरिए राजस्वको लक्ष्य नजिक पुग्न कठिन नहुने बताएका छन् ।

मन्त्री डा.महतले व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गरेका छन् ।

आन्तरिक राजस्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उनले बताएका छन् । ‘कुन वस्तु कानुनी रपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्टियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ’, डा.महतले भनेका छन् ।

अर्थमन्त्री महतले अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो ? कति आय भयो भन्ने पत्ता लगाउन सकिने बताएका छन् ।

‘होटेल, रेस्टुराँजस्ता सेवा–व्यवसायको संख्या बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ’, डा.महतले भने, ‘उनीहरूलाई कर प्रणालीमा जोड्नुपर्छ ।’

Published : Tuesday, 2024 February 6, 3:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया