बुढाथोकीको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार माघ २२ गते असामयिक निधन भएको कांग्रेसले जनाएको छ ।

विक्रम संवत् २००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मिएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

बुढाथोकीको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ । उनको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ ।

बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले बुढाथोकीको निधनप्रति शोक प्रकट गर्दै २०८० माघ २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।

माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय कांग्रेसले गरेको छ ।

स्वर्गारोहणको १३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

Published : Tuesday, 2024 February 6, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया