उपयुक्त मान्छे छभने उसलाई सभापति बनाउनु पर्‍यो, म वीपीको पुत्र त्यागको संस्कार छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले साथीहरूले परिवर्तन चाहन्छन् भने आफू पार्टी सभापति बन्न चाहेको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस दाङले घोराहीमा ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले भने, ‘पार्टी सभापति भनेको अत्यन्तै महत्वपूर्ण विषय हो । म उत्सुक छुभन्दा पनि काबिल छु वा छैन हेर्नुपर्छ ।’

‘आफूलाई पहिला कन्भिन्स गर्नुपर्छ । म हुन्छु भनेर । अनि मात्रै प्रयास गर्ने हो’, डा.कोइरालाले भने, ‘अहिलेको अवस्था के छभने पार्टी सभापति हुन को चाहँदैन ? म आफैलाई प्रश्न गर्न चाहन्छु, के शशांक तिमी योग्य छौँ ?’

उनले भने, ‘तिमी पनि पहिलाका जस्ता सभापति हुन्छौँ ? आसेपासे गर्ने ? मलाई भाषण गर्न आउँदैआउँदैन । म हृदयबाट कुरा गर्छु । चार पटक त्यसै जितेको होइन । कुनै चमत्कार हुनेवाला छैन । आज पनि म भन्छु आज पनि म ग्यारेन्टीका साथ जित्छु ।’

नेता डा.कोइरालाले भने, ‘सभापति हुने इच्छा सबैको हुन्छ । पहिला मैले साथीहरूसँग कुरा गर्नुपर्छ । परिवर्तन चाहन्छन् कि चाहँदैनन् । परिवर्तन चाहँदैनन् भने मलाई सभापति बन्न मन छैन । चाहन्छन् भने अनि मात्रै म सोँच्छु ।’

‘मभन्दा उपयुक्त मान्छे छभने उसलाई सभापति बनाउनु पर्‍यो । वीपी कोइरालाले परशुनारायण चौधरीलाई प्रधानमन्त्री बनाउने भन्नुभएको थियो’, उनले भने, ‘म वीपी कोइरालाको पुत्र भएर त्यति संस्कार पनि नजाने भने त म उहाँको छोरो नै होइन । वीपीको जस्तो विवेक त हुनुपर्‍यो म मा ।’

नेता डा.कोइरालाले भने, ‘कुनै ठूलो पद मेरा लागि ठूलो होइन । वीपी भन्नु हुन्थ्यो । प्रधानमन्त्री भएर उसले गर्‍यो के ? त्यसमा मतलव हुन्छ ।’

नेता डा.कोइरालाले स्व.सुशील कोइरालाको सरल जीवन र नेपाली समाजलाई दिएको योगदानको उच्च कदर गरेका छन् ।

उनले भने, ‘सुशील कोइराला मेरो बुबा सरह हो । अचम्म लाग्छ । प्रधानमन्त्री बन्नुभयो । संविधान दिनुभयो । सानो हुँदा सुशील कोइरालाले राजनीति गर्छ कि गर्दैन भनेर प्रश्न चिन्ह लाग्थ्यो ।’

‘कस्तो चक्रमा हामी पर्दो रहेछौँ । मान्छेमा खुबी हुन्छ । हरेक व्यक्तिमा खुबी हुन्छ । त्यसलाई कसरी उजागर गर्ने ? त्यो काम हो नेताको । आसेपासेलाई टिकट दिने कुरै हुँदैन’, उनले भने ।

नेता डा.कोइरालाले कांग्रेसलाई बिकेन्द्रीकरण गरेर जिल्ला, क्षेत्र, र पालिकाहरूका कार्यसमितिमा अधिकार दिनुपर्ने बताएका छन् ।

‘राष्ट्रको बिकेन्द्रीकरण भयो । सात वटा प्रदेश छ । नेपाली कांग्रेसलाई पनि बिकेन्द्रीकरण गराउनुपर्छ । केन्द्रीकृत हुँदैन । म भोलिका दिनमा सभापति भए भने कुन गाउँपालिकाको कुन वडामा कसलाई दिने टिकट’, उनले भने ।

‘टिकट कसलाई दिने केन्द्रलाई थाहा हुँदैन । हरेक गाउँको बारेमा केन्द्रलाई थाहा हुँदैन । सोध्दा पनि कसलाई सोध्छु भने आफ्नो मान्छेलाई सोध्छु । कुन मान्छे ठीक हो भनेर । त्यहिँको स्थानीयलाई दिनुपर्छ अधिकार । केन्द्रले हस्तक्षेप गर्नु हुँदैन’, डा.कोइरालाले भने ।

‘पहिला आफू परिवर्तन हुनुस्, अनि अरुलाई परिवर्तन गराउनुस् । तपाईहरूले परिवर्तन गर्नुभएको छ’, उनले भने, ‘तपाईहरूले सभापति बनाउँदा त्यही मान्छेलाई भोट दिनु हुन्छ । तपाईहरू परिवर्तनको पक्षमा हुनुहुन्न । म परिवर्तनको पक्षमा छु । म परिवर्तन गर्छु भन्ने अठोट पनि लिएको छु ।’

‘विवेक हुने मान्छेले भ्रष्टाचार गर्दैन । विवेक नभएको व्यक्तिलाई नेता बनाउँदा उसले भ्रष्टाचार गर्छ’, नेता डा.कोइरालाले भने ।

उनले भने, ‘म कस्तो व्यक्ति हो भने, म कहिल्यै मन्त्री भएको छैन । चारचोटी जिते । मन्त्री एकचोटी पनि भइन । मेरो दिमागमा नेपाली कांग्रेसलाई कसरी परिवर्तन गर्ने ? भन्नेछ ।
क्याटलिस्टका विद्यार्थी हुन्छन् । उसले परिवर्तन ल्याउँछ तर आफू परिवर्तन हुँदैन । त्यो क्याटलिस्ट बनाउन खोजेको छु ।’

कार्यक्रममा लुम्बिनी कांग्रेसका उप–सभापति एवम् स्वास्थ्यमन्त्री राजु खनाल, दाङ कांग्रेसका सभापति शंकर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2024 February 6, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया