गृह मन्त्रालयको ‘कोरटिम’सँग बालुवाटार फायर, एसपीहरूको सरुवाको सूची गोजीभित्र

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निकट रहेका केही व्यक्तिहरूले नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवामा निकै चलखेल र हस्तक्षेपपूर्ण गतिविधि गरिरहेको गुनासो बाहिरएको छ ।

गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले डीएसपी, एसपी र एसएसपीहरूको बढुवा र सरुवामा नीति बनाएका छन् । गृहमन्त्री र आईजीपी आफूले बनाएको नीतिमा अडिग छन् । गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवरले केही समय अगाडि डीएसपी, एसपी र एसएसपीहरूको सरुवा गर्दा नीतिलाई अनुसरण गरेका थिए । छिटफुट बाहेक डीएसपी, एसपी र एसएसपीहरूको सरुवामा विवाद भएको थिएन । अघिल्ला सरुवामा जस्तै सिनियर र जुनियर एसपीहरूलाई नीतिअनुसार सरुवा हुनेमा एसपीहरूको अपेक्षामा गृहमन्त्रीको ‘कोरटिम’ दाबी गर्ने गिरोहको हर्कतले तुषारापात गरिदिएको छ ।

दुई दर्जन जिल्लामा एसपीहरूको सरुवाको तयारी भएको छ । सूची पनि तयारी हालतमा छ । गृहमन्त्री श्रेष्ठले एसपीहरूको सरुवामा नीतिअनुसार काम अगाडि बढाउन आईजीपीलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

प्रहरी हेडक्वाटरले एसपीहरूको सरुवाको तयारी गरिरहेका बेला सुशन कर्मचार्य र उनका पति ई.लक्ष्मण तथा गृहमन्त्रीको भतिजो हुँभन्ने सुरजकाजी श्रेष्ठले आकर्षक मानिएका जिल्लाहरूमा सरुवा भएर जान चाहने एसपीहरूको सूची बनाएर गोजीमा राखेर हिँडेको स्रोतले जनाएको छ । सुशन र उनका पति ई.लक्ष्मण तथा सुरजकाजीले गृहमन्त्रीको सचिवालयमा नियुक्ति पाएका छैनन् । तर, उनीहरू गृहमन्त्रीको नाम लिएर गृह मन्त्रालयमा हाबी छन् । उनीहरूले कुन हैसियतमा एसपीहरूको सूची बनाएर हिँडेका हुन् रहस्यको विषय बनेको छ ।

एसपीहरूको सरुवा गर्ने अधिकार प्रहरी प्रधान कार्यालय अर्थात् आईजीपीलाई हुन्छ । आईजीपीले औपचारिकताका लागि गृहमन्त्रीलाई जानकारी गराउने परम्परा छ । एसपीहरूको सरुवामा आईजीपीले गृहमन्त्रीलाई जानकारी नगराउँदा पनि कुनै समस्या हुँदैन ।

अहिलेको सरकार गठबन्धनको सरकार हो । गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेससँग समन्वय नगरेर अगाडि बढेको भनेर आरोप लागिरहेको छ । यस्तो अवस्थामा गृहमन्त्रीको ‘कोरटिम’ दाबी गर्नेहरूका कारण गृह मन्त्रालय चर्चामा आएको छ । बालुवाटार गृहमन्त्री श्रेष्ठसँग पछिल्लो समय झस्किएको चर्चा पनि छ । बालुवाटारलाई नचिढ्याउन गृहमन्त्री श्रेष्ठले ‘कोरटिम’ दाबी गर्नेहरूलाई औकातमा राख्नुपर्ने सुझावहरू रहेको स्रोतले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठको सचिवालयमा राम्रा सहयोगीहरू पनि छन् । गृहमन्त्री श्रेष्ठका सहयोगीहरू विजय गौतम र सुमन आचार्य तथा प्रेस सल्लाहकार कमल गिरीले निकै राम्रो कामहरू गरिरहेका छन् । उनीहरूको गृह मन्त्रालयमा अधिकांशले प्रशंसा गर्दै आएका छन् ।

आफूलाई गृहमन्त्री श्रेष्ठको ‘कोरटिम’ दाबी गर्ने सुशन, ई.लक्ष्मण र सुरजकाजीले मोरङ, पर्सा, रुपन्देही, झापा, सिरहा, महोत्तरी, धादिङ लगायतका जिल्लामा आफू निकटको प्रहरी ईञ्चार्ज पठाउन एसपीहरूको खोजी गरिरहेको स्रोतले जनाएको छ । ‘कोरटिम’ले आकर्षक मानिएका जिल्लाहरूमा किन एसपीहरू पठाउन खोजेको हो कसैले फिटिक्कै बुझेका छैनन् ।

Published : Tuesday, 2024 February 6, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया