पैसा नभएकै कारण उपचार गर्न सक्नु भएन भने मलाई सम्झनुस्, म उपचार गरिदिन्छु : मन्त्री बस्नेत

जुगल । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवा गरेर राजनीति गर्नुपर्ने बताएका छन् ।

सोमबार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नं. ७ मा याङ्लाकोट बृहत २८६०औँ डुक ल्हो सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रम २०८० लाई सम्बोधन गर्दै भने, ‘जनताको सु:ख, दु:खमा साथ नदिइकन, जनताको आँशु बगेको बेलामा नपुछिकन, जनताको शिक्षा, स्वास्थ्य, विकास निर्माणको काममा नगरिकन अब राजनीति गर्छु भनेर हुँदैन ।’

उनले भने, ‘विद्यार्थीले बाह्रबीसे नगरपालिकामा १२ कक्षासम्म नि:शुल्क पढ्न पाउँछन् । भोटेकोशी गाउँपालिकामा नि:शुल्क पढ्न पाउँछन् । त्रिपुरासुन्दरी गाउँपालिकामा गरिवका छोराछोरीले नि:शुल्क पढ्न पाउँछन् । जुगलमा १२ कक्षासम्म नि:शुल्क गर्नुस् । एक करोड पैसा वार्षिक थप गर्नुपर्छ । त्यसको डबल विकासमा हाल्ने पैसा म विकासको योजना ल्याइदिन्छु ।’

‘संविधानको धारा ३५ मा शिक्षा र स्वास्थ्य जनताको मौलिक हकको भन्ने कुरा लेखेको छ । व्यवहारमा त्यो अवस्था छैन’, मन्त्री बस्नेतले भने ।

‘गरिवका छोराछोरी अहिले पनि पढ्न नपाएर आत्महत्या गरेर मरिरहेका छन् । फि तिर्न नसकेर मरिरहेका छन्’, उनले भने ।

‘अलिक अगाडिसम्मको कुरा हो । उपचार गर्न नपाएर । हस्पिटलको बरण्डाबाट मान्छेले हामफालेर मरेका छन्’, उनले भने, ‘म आएपछि अब कोही पनि नेपालीले पैसा नभएको कारण उपचार गर्न नसकेर मर्न पर्दैन ।’

मन्त्री बस्नेतले भने, ‘त्यसको जिम्मा राज्यले लिन्छ । राज्यको प्रतिनिधि म हुँ । म जिम्मा लिन्छु भनेको छु । र, अहिले हजारौंको उपचार सुरु भइरहेको छ ।’

‘तपाईहरूमध्ये कोही पनि मान्छे रोग लाग्यो, पैसाका कारणले उपचार गर्न सक्नु भएन भने मलाई सम्झनुस् । म नि:शुल्क उपचार गरिदिन्छु । नि:शुल्क उपचार गर्नको निम्ति केही नीतिहरू बनाइदिएको छु’, उनले भने ।

‘सबै अस्पतालहरूमा शतप्रतिशत् बेड उपचारसहित गरिव र विपन्नका लागि नि:शुल्क उपचार गर्न छुट्टाइएको छ । त्यसको गरिव भनेको सिफारिस कसले गर्छभन्दा वडाध्यक्षले गर्छ’, उनले भने, ‘वडाध्यक्षले गरिव हो भनेर सिफारिस गरेको आधारमा त्यो मान्छेले नि:शुल्क उपचार पाउँछ ।’

मन्त्री बस्नेतले भने, ‘२२/२३ जिल्लामा विपन्नको कार्ड बाँडेको छ । त्यो कार्ड देखाउनेवित्तिकै नि:शुल्क उपचार हुन्छ । १६ वटा संघीय अस्पतालहरूमा ३ हजार ५ सय २३ बेड, जनरल बेड, गरिव र विपन्नका लागि नि:शुल्क छुट्टाइदिएका छौँ । लुम्बिनी, गण्डकी, मधेश प्रदेश र बागमतीका सबै प्रादेशिक अस्पतालमा जनरल बेडहरू फ्रि गरिदिएको छ ।’

‘डाक्टर र नर्स पढन नपाएर देशमा बिजोग छ । लाखौँको संख्यामा विदेश गएका छन् । खर्बौं रुपियाँ विदेश गएको छ’, उनले भने ।

‘नेपालमै पढ्ने व्यवस्था गराउनको लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्नेदेखि लिएर स्वास्थ्य मन्त्रालयले अरु निर्णय गरेर अगाडि बढाएको छ’, उनले भने ।

‘नेपालमा चिकित्सा शिक्षा, डाक्टर, नर्स, प्यालामेडिसिन यी विषयमा पढ्नको लागि नेपालमा वालछ्याल पाइने नीति हामीले सुरुवात गरिरहेका छौँ’, मन्त्री बस्नेतले भनेका छन् ।

Published : Monday, 2024 February 5, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया