पेलेरै जाने एमालेको रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा सत्तापक्षलाई निकै असहयोग गर्ने रणनीति बनाएको छ ।

प्रतिनिधिसभाको बैठक सोमबारदेखि सुरु हुन लागेको छ । संसद सुरु हुनुभन्दा एकदिन पहिला एमालेले संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । एमालेले संसदलाई सहज रुपमा अगाडि बढ्न दिने मुडमा छैन ।

एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको कठोर टिप्पणी गर्दै आएका छन् । ओलीका टिप्पणी र अभिव्यक्तिहरूमा सरकारलाई संसदमा निकै कठिन अवस्था सिर्जना हुनेछन् ।

ओलीले सत्ता गठबन्धनलाई भत्काउन निकै प्रयासहरू गरिरहेका छन् । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई एमालेले अड्काएर राखेको छ । शान्ति प्रक्रियासम्बन्धी विधेयकलाई सहज रुपमा अगाडि बढाउने पक्षमा एमाले छैन ।

एमालेको समर्थन र सहयोगविना विधेयक अगाडि बढ्ने अवस्थामा छैन । सभामुख एमालेका सांसद देवराज घिमिरे छन् । घिमिरेले ओलीकै निर्देशन र आदेशमा संसदमा गतिविधि गर्नेछन् । विगतमा पनि घिमिरेले निष्पक्ष रुपमा संसद चलाउन नसकेको भनेर आलोचना भइसकेको छ ।

एमालेले आवश्यक पर्दा निरन्तर संसद अवरोध पनि गर्न सक्नेछ । ओलीले संसदीय दलको बैठकमा दिएको निर्देशनले सदन सहज रुपमा अगाडि बढ्ने अवस्थामा छैन ।

सत्ता हातबाट फुत्किएको पीडा ओलीलाई निकै छ । सरकारले गरेका हरेक काम र निर्णयमा एमालेका नेताहरूलाई मन परेको छैन । एमालेले रचनात्मक कदम उठाउँछ वा इगो लिएर अगाडि बढ्छ दुई वटा बैठकबाटै देखिनेछ ।

नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

आइतबार सम्पन्न दलको बैठकले बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए ।

यस्तैले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका सवारीमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको उनले बताए ।

युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्था लाई मध्यनजर गरी अप्ठ्यारोमा रहेका नेपाली युवाहरू लाई अविलम्ब स्वदेश फर्काउन पनि सरकारलाई आग्रह गरेको छ ।

यस्तै पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङ बिरामी भई हाल उपचारार्थ रहेकोमा उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ ।

Published : Monday, 2024 February 5, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया