ठमेलबाट सुन काण्डका नाइकेको होटलमा १३ लाखसहित ११ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ठमलेमा रहेको होटल भियानाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ ठमेल, ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लीला डाँगी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

डाँगीले होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी छापामारेको थियो । प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

होटल भियाना ६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनकी पत्नी अमला रोकाको होटल हो । होटल भियाना निकै बदनाममा पर्छ ।
पक्राउ पर्नेमा काठमाडौंको जोरपाटीका अरुण घिमिरे, काभ्रेका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दीपक गुरुङ, नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त, शंकर शाही, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेद्दनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङ रहेका छन् ।

पक्राउ परेकाहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । होटल भियानाका सञ्चालक दावा अहिले पुर्पक्षका लागि थुनामा छन् । उनकी पत्नी अमला रोका फरार छिन् ।

Published : Wednesday, 2024 January 31, 12:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया