महिलाको हत्यामा संलग्न दीपेन पक्राउ, थप दुई जनालाई पनि नियन्त्रण

काठमाडौं । महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले संखुवासभाबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरीको धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षीय दीपेन राई भन्ने आकास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेस्थित एसएस एफएमको कम्पाउण्ड बाहिर माघ ६ गते दिउँसो दिलकुमारी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा सुनसरी, धरान उपमहानगरपालिका–२ देशीलाईनस्थित एक गेष्टहाउसबाट पक्राउ गरेको हो ।

आकाशले दिलकुमारीको बन्चरो प्रहार गरी हत्या गरेको र कानमा लगाएको सुन जस्तो देखिने धातुको २ थान रिङ डाँका चोरी गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

आकाशले उक्त रिङ धनकुटा पाख्रीवास नगरपालिका–४ बुद्धचोकस्थित रुपकला ज्वेलर्सका संचालिका ३६ वर्षीया धनमाया विश्वकर्मालाई बिक्री गरेको तथा धनमायाले सो रिङ सोही ठाउँस्थित विवेक ज्वेलरीमा बिक्री गरेको खुल्न आएपछि धनमाया र विवेक ज्वेलरीका संचालक ५३ वर्षीय देवबहादुर विश्वकर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

आकाश उपर कर्तव्य ज्यान र चोरी/डाँका सम्बन्धी कसूर मुद्दामा तथा रिङ खरिद गर्ने कार्यमा संलग्न धनमाया र देवबहादुर उपर चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2024 January 30, 7:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया