सभापति डा.राणाले विधिअनुसार बैठक चलाउँदा सुवाल व्यक्तिगत लाञ्छनामा उत्रिए, कम्युनिस्ट औकात देखाए

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा स्रोत साधन समितिको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले संसदीय मर्यादाभन्दा बाहिर गएर व्यक्तिगत आपेक्ष र लाञ्छना लगाउने गरेर गतिविधि देखाएका छन् ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा आफ्नो समयमा बोल्ने क्रममा नेमकिपाका सांसद सुवालले संसदीय मर्यादा र आचरणभन्दा बाहिर गएर व्यक्तिगत लाञ्छना लगाउने गरेर अभिव्यक्ति दिएका हुन् । समितिका सदस्य समेत रहेका सांसद सुवालले समितिमा बैठकको विषयवस्तुभन्दा बाहिर गएर जथाभावी बोल्न थालेपछि समितिकी सभापति डा.आरजु राणा देउवाले सम्झाएर विषयवस्तुमा केन्द्रित रहेर छलफलमा सहभागी हुन अनुरोध गरेकी थिइन् । डा.राणाको निर्देशनपछि झन् आक्रोशित भएका नेमकिपाका सांसद सुवालले व्यक्तिगत लाञ्छना लगाउने गरेर अमर्यादित भएर जथाभावी बोलेका थिए ।

सभापति डा.राणाले बैठकलाई सहज रुपमा सञ्चालन गरेकी थिइन् । उनको दायित्व पनि बैठकलाई विषयवस्तुभन्दा बाहिर जान नदिनु हो । सांसद सदस्यहरुलाई आफ्नो समयसीमाभित्र छलफलमा सहभागी गराएर सहमतिका आधारमा बैठकलाई सभापति डा.राणाले अगाडि बढाउँदै आएकी छिन् ।

सांसद सुवालको गतिविधि र हर्कतबाट समितिको मर्यादा र सांसदको गरिमालाई घटाएको छ । सुवालले बेलाबेला निच हर्कत गर्दै आएका छन् । सोमबारको बैठकमा पनि सांसद सुवालले स्वतन्त्रबाट निर्वाचित भएका सांसद अमरेश सिंहले जस्तै हर्कत देखाएका छन् ।

सभापति डा.राणाले भनिन्, ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस् ।’ नेमकिपाका सांसद सुवाललले जंगिदै भने, ‘पोइन्ट नै हो । तपाईहरुलाई घोचेपछि पोइन्टमा पर्दैन । सबै थाहा छ सभापतिज्यू । तपाईहरुलाई घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? सबै थाहा छ हामीलाई । प्रजातान्त्रिक समाजवाद पनि थाहा छ । नाटक नै नाटक त हो नि । बिपी कोईरालालाई त तपाईहरुले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि । भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई । सभापतिज्युले ठूलो कुरा गर्नुपर्दैन । कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई ।’

समितिको बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सांसद सुवाललाई सम्झाउँदै भने, ‘त्यतातिर नजाऔँ माननीयज्यू ।’

सांसद सुवालले झन् चर्को स्वरमा भने, ‘किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के ।’ (टेबल ठटाउँदै) उभिएर र पुनः टेबल ठटाए ।

सभापति डा.राणाले भनिन्, ‘रोकेको होइन । रोकेको होइन । प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के । प्लिज बस्नुस् माननीयज्यु । बस्नुस् । आफ्नो पोइन्ट राखेर जानुस् ।’

सुवालले भने, ‘तपाईलाई घोचेपछि रोक्ने ? किन रोक्नुभयो ?’ सभापति डा.राणाले भनिन्, ‘दुई, तीन वटा बाँकी छ अब । तपाईले गरेर जानुस् । मन्त्रीज्यू कुरिरहनुभएको छ ।’

नेमकिपाका सांसद सुवालले भने, ‘त्यसरी रोक्न पाइँदैन । पक्षपात गर्न पाइँदैन ।’ सभापति डा.राणाले भनिन्, ‘रोकेको होइन । पक्षपात गरेको होइन ।’ सांसद सुवालले भने, ‘किन होइन ?’

सभापति डा.राणाले भनिन्, ‘पक्षपात गरेको होइन । सिध्याएर जानुस् आफ्नो कुरा । व्याख्या धेरै नगर्नुस् मात्रै भनेको ।’

सांसद सुवालले बस्दै भने, ‘तपाईहरुको समर्थन गर्न आएको होइन म ।’ सभापति डा.राणाले भनिन्, ‘समर्थन खोजेको होइन । यो त संशोधन गर्नैपर्छ ।’

नेमकिपाका सांसद सुवालले भने, ‘बिरोध गर्नासाथ किन रोक्नुभयो ?’ सभापति डा.राणाले भनिन्, ‘मलाई लाग्दैन कि तपाईले गरेको बिरोध हो । मलाइ यो बिरोध होइन जस्तो लाग्छ । यो ठीक छ । संशोधन हाल्नैपर्छ ।’

सुवालले भने, ‘आज युवाजति ८० लाख विदेश पठाउनु भयो । आज देश ध्वस्त पार्नुभयो । तपाईहरुले किन रोक्नुभयो ।’

नेमकिपाका सांसद सुवारको अराजक हर्कत र शैलीबाट आजित भएका अन्य दलका सांसदहरुले भने, ‘नरिसाउनु न माननीयज्यू ।’

सभापति डा.राणाले भनिन्, ‘छोटो मात्रै गर्नुस् भनेको हो । कुरा राख्नुहोस् भनेको हो ।’ सांसद सुवालले भने, ‘अरु कसैलाई भन्नुपर्दैन । मलाई किन भन्नुपर्छ सभापतिज्यु ? त्यस्तो पक्षपात गर्न पाइँदैन ।’

सभापति डा.राणाले भनिन्, ‘ठीक छ, ठीक छ प्लिज । तपाई लामै राख्नुस् । लामै राख्नुस् । दिनभरि हामी यहीँ बस्न आएको हो ।’

सांसद सुवालले भने, ‘यस्तो नचाहिने नचाहिने कुरा । औद्योगिक क्षेत्रहरुमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन । तपाई उद्योगको मन्त्री(उद्योगमन्त्रीलाई इंकित गर्दै) के यो बोल्न पाउँदैन ?’

जवाफमा उद्योगमन्त्री रिजालले भने, ‘पाइन्छ, पाइन्छ किन नपाउनु ?’ सुवालले भने, ‘तपाईको मातहतको काम राम्रोसँग गर्नुपर्यो । जनतालाई धोका दिन पाइँदैन मन्त्रीज्यू ।’

सांसद सुवालले पाना पल्टाउँदै आफ्नो संशोधन राख्न शुरु गर्दै भने, ‘६ महिना यता ४ अर्ब रुपियाँको तरकारी आयात भयो । त्यो पनि विषादी भएको । चेकजाँच गर्नुपदैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहान्छु सभापति महोदयमार्फत धन्यवाद ।’

Published : Monday, 2024 January 29, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया