कांग्रेसको स्थापना दिवसमा सभापति देउवाद्वारा उपाध्याय र थपलियालाई सम्मान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले योगप्रसाद उपाध्याय र नूतन थपलियालाई सम्मान गरेका छन् ।

सानेपामा शुक्रबार सभापति देउवाले कांग्रेसमा आस्था राखेर प्रजातन्त्रको पक्षमा निरन्तर लागेका पुराना नेताद्वय उपाध्याय र थपलियालाईसम्मान गरेका हुन् ।

पार्टी स्थापनाको ७८औं वर्ष पुगेको अवसरमा उपाध्याय र थपलियालाई सभापति देउवासहित शीर्ष नेताले सम्मान गरेका हुन् ।

२००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए ।

नेपाल विद्यार्थी संघ हुनु अघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्याय अगुवाई गरेका थिए । वीपी कोइरालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासनमा विताएका थिए ।

राजा र दलबीचमा समन्वय गरेर जानुपर्ने मत राख्ने उपाध्याय २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा गृहमन्त्री बेनका थिए । उनी कांग्रेसको सह महामन्त्री र पार्टी प्रवक्ता समेत बनेका थिए ।

कांग्रेसले शुक्रबार सम्मान गरेका अर्का व्यक्ति थपलियाले नागरिक स्वतन्त्रताका लागि २००३ साल देखि सक्रिय भएर लागेका थिए ।

शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता हुन् ।

२००७ सालमा वीपी विराटनगरमा पक्राउ परेको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दा उनलाई तत्कालीन सरकारले पक्राउ गरेको थियो । स्वतन्त्रताका लागि उनले भोक हड्ताल र सत्याग्रह आन्दोलन अपनाएका थिए ।

भारत स्वतन्त्रताको खुसीयालीमा सहभागी हुँदा छ महिना जेल परेका थिए । राजनीतिक कार्यक्रममा लागेको आरोपमा २०२५ सालमा उनलाई शिक्षण पेशा गुमाउनु परेको थियो । थपलियाले मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको स्थापनामा योगदान गरेका थिए । ९४ वर्षका पुगेका उनलाई केन्द्रीय कार्यालयमा कांग्रेसले सम्मान गरेको छ ।

Published : Friday, 2024 January 26, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया