एमालेबाट निर्वाचित मेयरलाई पक्राउ गर्न रेड कर्नर नोटिस

काठमाडौं । कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

एमालेका नेता समेत रहेका नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको डेढ अर्ब र विभिन्न बैङ्कको ३५ करोड हिनामिना गरेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हालसालै नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको बताएका छन् ।

प्रमुख नेपाली गत वैशाखदेखि सम्पर्कविहीन छन् । नेपालीको समूहले पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी इमेज बचत तथा ऋण सहकारी खोली बचत हिनामिना गरेको प्रहरीकोमा अभियोग छ ।

इमेज सहकारी प्रकरणमा अदालतले आठ जनाविरुद्ध जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध एक हजार पाँचसय ५० बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।

इमेज सहकारीका अनिता बुढामगर, चित्रबहादुर भण्डारी, शक्ति किसान नरमती बुढा र डोरबहादुर परियार पक्राउ परेका छन् ।

सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रमुख नेपाली बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा समेत मत दिन आउनु भएन ।

Published : Friday, 2024 January 26, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया