प्रधानमन्त्री मोदीको परिकल्पना अनुसार भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउँछौं : राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले आफ्नो ७५औँ गणतन्त्र दिवस मनाउँदै गर्दा नेपालमा रहेका भारतीय साथी एवम् मित्रहरुमा न्यानो अभिवादन टक्र्याएको जनाएका छन् ।

शुक्रबार बिहान शुभकामना सन्देश जारी गरेर राजदूत श्रीवास्तवले राष्ट्रको आशा एवम् आकांक्षालाई मूर्त रुप दिँदै आजकै दिन सन् १९५० मा भारतको संविधान कार्यान्वयनमा आएको बताएका छन् । उनले यस महत्वपूर्ण दिनलाई आज मनाउँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिकल्पना अनुसार भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने संकल्पमा कटिबद्ध रहेको जनाएका छन् ।

‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ मार्गदर्शक सिद्धान्त बोकेको भारतले यस अमृतकालमा विकसित राष्ट्र बन्ने यात्रामा हासिल गरेको प्रगति थप गतिशील छिमेकी पहिलो नीतिमा अभिव्यक्त भएको छ’, उनले भने, ‘हाम्रो नेपालसँगको सम्बन्धमा पनि यही कुरालाई जोड दिँदै पारस्परिक लाभ हेतु सहस्राब्दी पुरानो सभ्यतागत सम्बन्धलाई आधुनिक साझेदारी रुपान्तरण गरिँदैछ ।’

यससम्बन्ध सन् २०२३ को मे जुनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण कोसेढुङ्गाको रुपमा रहेको राजदूत श्रीवास्तवले बताएका छन् । उनले भने, ‘हाम्रो सम्बन्धलाई गति प्रदान गर्न र हाम्रो साझेदारीलाई सुपरहिट बनाउन प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीले कैयौँ महत्वपूर्ण निर्णयहरु गर्नुभयो ।’

उनले भने, ‘यसमा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्ने घोषणा, नेपालको पारवहन कार्गोका लागि भारतको आन्तरिक जलमार्गमा पहुँच प्रदान गर्ने संशोधित पारवहन सन्धिबारे सम्झौता, अन्तरदेशीय मालवाहक रेलको सञ्चालन, नेपालको सुदूरपश्चिमलाई भारतसँग जोड्न शिरसा र झुलाघाटमा नयाँ मोटरेबल पुलको निर्माण र निर्बाध वित्तीय कनेक्टिभिटीका लागि डिजिटल भुक्तानीको सहजीकरण जस्ता निर्णयहरु समावेश थिए ।’

दुवै देशले उर्जा कनेक्टिभिटी विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको उनले बताएका छन् । १३२ केभी क्षमताका तीनवटा नयाँ अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन, ४ सय केभी क्षमताको गोरखपुरदेखि बुटवल प्रसारण लाइनको भारततर्फको खण्डको निर्माण गर्न भूमिपूजन, नेशनल थर्मल पावर कर्पोरेशन र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय उर्जामा सहकार्यका लागि सम्झौता भएको राजदूत श्रीवास्तवले जनाएका छन् ।

उनले मोतीहारीदेखि अमलेखगञ्ज र चितवन र सिलिगुरीदेखि झापाबीच नयाँ पाइपलाइनका लािग भएको सम्झौताले उर्जाको सम्पूर्ण क्षेत्रमा नेपाल र भारतबीचको सहकार्यलाई मजबुत बनाउन मद्दत गर्ने जनाएका छन् ।

दुई प्रधानमन्त्रीबीच उर्जा व्यापार सम्बन्धी दीर्घकालीन सम्झौता सम्पन्न गर्ने निर्णयले नयाँ अध्याय थपेको राजदूत श्रीवास्तवले बताएका छन् । उनले पछिल्लो महिनाको सुरुवातमा हस्ताक्षर भएको सम्झौताले दश वर्षको अवधिभित्र नेपालबाट भारतमा हुने विद्युत निर्यातको परिणाम दश हजार मेगावाट पुर्‍याउने लक्ष्य रहेको बताएका छन् ।

Published : Friday, 2024 January 26, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया