वीस वर्षदेखि फरार कैली तामाङ पक्राउ

काठमाडौं । प्रहरीले मोरङमा कैली तामाङलाई हत्या अभियोगमा पक्राउ गरेको छ । संखुवासभाको चैनपुरमा २० वर्ष अगाडि भएको सामूहिक हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले कैली तामाङलाई पक्राउ गरेको जनाएको छ ।

तत्कालीन सिद्धकाली गाविसका योगेन्द्र दाहाल र मंगल लिम्वूको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले कैली तामाङलाई पक्राउ गरेको जनाएको छ । कैली तामाङ फरार थिइन् ।

कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भएपछि कैली तामाङ फरार भएकी हुन् । मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट कैली तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको छ ।

आठ जना मिलेर लिम्वू र दाहालको सामूहिक हत्या गरेपछि उनीसहित केही अभियुक्तहरु फरार बनेका थिए । २०६० फागुन १० गते सामूहिक हत्या भएको थियो । खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा ८ जना मिलेर उनीहरुको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

मंगल र योगेन्द्रको हत्यामा कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको थियो ।

Published : Thursday, 2024 January 25, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया