अहिले कुनै पार्टीको बहुमत आउने अवस्था छैन : सभापति देउवा

वालिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको उदघाटनलाई सम्बोधन गर्दै देउवाले अहिले कुनै पार्टीको पनि बहुमत आउने अवस्था नरहेको बताए । उनले भने, ‘हामीले समानुपातिक निर्वाचन व्यवस्था अङ्गालेका छौं, यो अवस्थामा एक दलको बहुमत आउन धेरै कठिन हुन्छ, त्यसैले गठनबन्धन अनिवार्य रहेको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले युवापुस्तालाई स्वदेशमा नै रोक्न जरुरी रहेको बताएका छन् । गठबन्धन अहिलेको आवश्यक्ता भएको भन्दै सभापति देउवाले यसलाई लामो समयसम्म लैजान कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् । नयाँ व्यवस्था आएसँगै देशमा विकासले गति लिएको भन्दै सभापति देउवाले यही शासन व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

पछिल्लो समय महिला, जनजाती तथा पछाडि परेको समुदायलाई विशेष स्थान दिइएको भन्दै देउवाले उनीहरुलाई अगाडि बढाउन समानुपातिक र समावेशी सिद्धान्त ल्याइएको बताए । पहाडी जिल्लामा विकासको नीति बनाउन सुझाव दिनुहुँदै सभापति देउवाले जलस्रोत र स्थानीय स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताएका छन् ।

कांग्रेस कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सभापति देउवाले कांग्रेसले सवैलाई मिलाएर लैजाने र देशको विकास गर्ने बताएका छन् । उपसभापति तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देशको विकासका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् । गुरुङले जिल्लाको विकासका विभिन्न पक्षका बारेमा कार्यक्रममा बताएका छन् ।

सिद्धार्थ राजमार्ग र आँधीखोला हाइड्यामका लागि आफूले पहल गरिरहेको मन्त्री गुरुङले बताएका छन् । नेता डा.शशाङ्क कोइरालाले कांग्रेसको स्याङ्जामा कांग्रेसको संगठन बलियो र सशक्त रहेको बताएका छन् । आफ्ना बुवा वीपी कोइरालाले कांग्रेसको संगठन हेर्न स्याङ्जा जानुपर्छ भन्नेगरेको डा.कोइरालाले बताएका छन् ।

सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारी, पूर्व सांसद मोहनप्रसाद पाण्डे, प्रदेश सांसद भोजराज अर्याल लगायतले पार्टीलाई सशक्त बनाउन युवापुस्तालाई विशेष स्थान दिनुपर्ने बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा रहेको सीमित स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढिरहेको बताए । कांग्रेस विधानअनुसार चल्ने पार्टी भएको भन्दै मुख्यमन्त्री पाण्डेले सबै पार्टीका सदस्यले आ–आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्ने बताए ।

कांग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधिसभाका सांसद राजु थापा, उपसभापति केदार काफ्ले, सचिवहरु गुरुप्रसाद भट्टराई र दामोदर लम्सालले विभिन्न प्रतिवेदनहरु पेश गरेका छन् ।

Published : Thursday, 2024 January 25, 7:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया