राष्ट्रिय सभाको मतदान ९ बजेदेखि, को-को विदा हुन लागे ?

काठमाडौं । बीसमध्ये १९ नयाँ सदस्यहरुका लागि राष्ट्रिय सभा निर्वाचन आज बिहीबार सात प्रदेशमा हुन लागेको छ ।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मत गणना हुनेछ । मतदानको आजै करीव ३ घण्टाभित्र प्राप्त हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको बताएका छन् ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना उम्मेदवार छन् ।

सात प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो ।

गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको छ ।

६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् । एमालेकै दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।

नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी)को कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।

नेकपा (माओवादी केन्द्र)का महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)को कार्यकाल सकिँदै छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)की प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ । बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० गते बिदा हुँदैछन् ।

Published : Thursday, 2024 January 25, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया