नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने आशा काठमाडौंबाट पक्राउ

काठमाडौं । आर्थिक लाभ लिई नाबलिकाहरूलाई योन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई पक्राउ गरेको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखाको भीमेश्वर नगरपालिका-९ बस्ने आशालाई सोमबार पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौ महानगरपालिका-३२ जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी क्याफे तथा गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले यौनजन्य गतिविधिमा संलग्न आशालाई काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्दार समेत गरेको छ । आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, शुरूमा वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

आशाउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको व्यूरोले जनाएको छ ।

Published : Wednesday, 2024 January 24, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया