बागमतीका मन्त्रीले सहकारीका ठगलाई बचाउन खोजे, सीआईवीसम्म निवेदन

काठमाडौं । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी ठगीका नाइके अशोक गोयल र उनी प्रवन्ध सञ्चालक रहेको न्यूरोडको धर्मपथस्थित एयरटेल सहकारी संस्थामा भएको आर्थिक बदमासीबारे तत्काल अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न पत्राचार गरेको दुई हप्ता बितिसक्दा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले सहकारीका हर्ताकर्ता र आफूलाई पीडित दावी गर्दै न्यायलय गुहारेका बचतकर्ताबीच छलफल मात्र गराउने गरेको छ ।

यतीका दिनसम्म सीआईवीमा सहकारी ठगी सम्वन्धी प्रकरणको तत्काल अनुसन्धान गर्न गरिएको पत्राचारको प्रगति शून्य बराबर भएको पीडितको गुनासो छ ।

पाँच वर्षअघि नै सहकारीभित्र करोडौं घोटला गरी सहकारीको रकम झ्वाम पारेका एयरटेल सहकारीका प्रवन्ध सञ्चालक अशोक गोयल अदालतको आदेशले दुई वर्ष कैद बसेर पीडित बचतकर्ताको रकम छ महिनाभित्र फिर्ता गर्ने शर्तमा रिहा भएका थिए ।

लामो सयमसम्म आफ्नो सहकारीमा डुबेको रकम फिर्ता नपाएका पीडितहरू यतीबेला उही ठग गोयल पक्षसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीमा छलफल भन्दै पटक पुगीसकेका छन् ।

पीडित पक्ष भन्छ, ‘हामीले हाम्रो बचत रकम फिर्ता पाउन धाइरहेका हौं । छलफल गरिराख्नुको कुनै मतलव नै छैन ।’

‘यसअघि नै ठगी भएको न्यायलयले प्रमाणित गरिसकेको छ । हाम्रो सहकारीमा फसेका रकम छ महिनाभित्र फिर्ता गर्नैका लागि उ रिहा भएको हो’, पीडितहरूले भनेका छन् ।

‘हाम्रो रकम फिर्ता गराउनेभन्दा पनि अरु सहकारीभित्र रहेको रकम कसरी ठगी गर्ने भन्ने तिरै ध्यान दिएजस्तो लाग्न थाल्यो’, पीडितको भनाइ छ ।

रकम हिनामिना गरेको अभियोगमा अनुसन्धान गरी प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरीसकेपछि समस्याग्रस्त रहेको एयरटेल सहकारीमा त्यसअघि प्रवन्ध निर्देशक रहेका अशोक गोयलले आफ्नै श्रीमती सुमन केडिया गोयललाई अध्यक्ष र छोरीलाई लेखापालका रुपमा जिम्मेवारी तोक्दै सहकारीभित्र लुट मच्चाइरहेका थिए ।

करोडौं रकम डुबेको भएता पनि प्रहरीमा उजुर गर्न ६६ जना बचतकर्ता पुगेका थिए । त्यसबेला ६६ जनाको मात्रै २५ करोड बढी रकम हिनामिना गरेको अभियोग न्यायलयले पनि पुष्टि गर्दै अशोक, उनकी पत्नी सुमन लगायत आधा दर्जन बढी सञ्चालक समितिमा रहेकाहरूमाथि कैद र जरिवाना समेत तोकिएको थियो ।

सहकारीमा जग्गा जमीन धितो दिएर कर्जा लिएकाहरूको जग्गा फुकुवा गराई त्यो रकम समेत ठगी गर्ने नियतले समस्याग्रस्त सहकारीको तदर्थ समितिको आफैलाई अध्यक्ष तोकेर नयाँ र नौला अनुहारलाई सदस्य तोक्दै अवैद्य कार्य समिति गठन गर्दै आएको आरोप छ ।

विशेष साधारण सभा गर्न खोजेपछि पीडित पक्षले बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई गुहार्न पुगेका थिए ।

अशोक गोयलको चास्नीमा डुबेका सहकारीमन्त्री पुकार महर्जनले उल्टै पीडित पक्षको निवेदन उपर वेवास्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नै अघि सर्नु परेको थियो ।

काठमाडौंको कीर्तिपुरतिर घर भएका र माओवादी पार्टीमा राजनीति गरेका पुकार महर्जन आर्थिक रुपमा निकै लिच्चचढ भएको आरोप छ ।

खुलेआम ठगी प्रमाणित भइसकेका अशोक गोयलकै पक्षमा देखिँदा सहकारी मन्त्रालयमा त्यहाँका कर्मचारीका अगाडी मन्त्रीको अनुहार उदाङ्गो भइसकेको अवस्था छ ।

मन्त्री पुकार महर्जनले अनुचित लाभ लिएर अशोक गोयललाई सघाइरहेको सीआईवीले पनि दुई पक्षको छलफलका क्रममा बुझिसकेको छ ।

मन्त्रीले नै प्रत्यक्ष साथ दिएकाले सीआईवी अनुसन्धान कार्यमा तातिहाल्न नसकेको बताइन्छ ।

यस विषयमा अख्तियारमा समेत उजुरी परिसकेकाले त्यताबाट पनि सहकारी मन्त्रालयसँग पत्राचार भइरहेकाले पछिल्लो समय मन्त्री महर्जन केही डराएजस्तो देखिन थालेका छन् ।

बाध्य भएर सहकारी मन्त्रालयले सीआईवीलाई अनुसन्धान गर्न पुस २६ गते पत्राचार गरेको छ । उक्त पत्रको गृह मन्त्रालय र नेपाल प्रहरीको प्रधान कार्यालयलाई समेत बोधार्थ दिएको अवस्था छ ।

(तस्बिर । किरण बज्राचार्य, एआईजी, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरो)

Published : Tuesday, 2024 January 23, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया