कांग्रेस र रुखविरुद्ध भोट माग्ने गद्दारहरूलाई गाउँबाट कार्यकर्ताले लखेट्नुपर्छ : सह-महामन्त्री उपाध्याय

बकैया । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले अन्तरघातीहरूलाई जनताले दण्ड र सजाय दिनुपर्ने बताएकी छिन् ।

आइतबार मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नं. ११ मा कुन्छिपोकल आहाले सिमान खानेपानी योजनाको शिलान्यास गर्दै नेतृ उपाध्यायले आफ्नै पार्टीको उम्मेदवार र आफ्नै रुख चिन्हमाथि अन्तरघात गर्नेलाई जनताले सजाय दिनुुपर्ने बताइन् । उनले भनिन्, ‘कांग्रेसबाट रुख चिन्ह लिएर जित्ने, अनि रुखको विरुद्धमा भोट माग्नेहरूलाई गाउँ गाउँबाट लखेट्ने कि नलखट्ने ?’

सह–महामन्त्री उपाध्यायले भनिन्, ‘पार्टीका साथीहरूले गद्दारहरूलाई ठेगान लगाउन पार्टीको आन्तरिक निर्वाचनबाट दण्ड दिएर सजाय दिनुपर्छ ।’

उनले जनताको अधिकारलाई संविधानमार्फत सुनिश्चितता गरेको बताएकी छिन् । केही जनप्रतिनिधिले मतको दुरुपयोग गरेको भन्दै त्यसका विरुद्ध जनताले दवाव दिनुपर्ने बताए । पूर्वसांसद समेत रहेकी उपाध्यायले बकैया क्षेत्रमा आफू सांसदमा पराजित हुँदा पनि २/३ करोड बजेट ल्याइसकेको बताइन् ।

सह–महामन्त्री उपाध्यायले मकवानपुरको विकास र जनताको हितका लागि निर्वाचनमा उम्मेदवार बनेको बताएकी छिन् । उनले निर्वाचनमा जनताले नपत्याएका कारण पराजित भएको बताइन् ।

जनताले पराजित गराए पनि आफूले गाउँका जनताको सेवा र गाउँको विकासमा कुनै पनि पूर्वाग्रही नभएर काम गर्ने सह–महामन्त्री उपाध्यायले बताएकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका बाग्मती प्रदेश सरकारका खानेपानीमन्त्री तीर्थ लामा, बकैया खानेपानी योजना वडा नं. ११ का अध्यक्ष सुकराम घलान लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 January 21, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया