भारतीय नागरिक अन्सारीद्वारा काठमाडौंमै तनहुँकी सफियाको हत्या

काठमाडौं । नेपाली महिलाको हत्या गरेको अभियोगमा प्रहरीले भारतीय नागरिक ४७ वर्षीय ईकरामुल हक अन्सारीलाई पक्राउ गरेको छ ।

काठमाडौंको स्वयम्भु, शोभाभगवतीस्थित सरिता गिरीको घरमा डेरा गरेर बस्दै आएका भारतीय नागरिक अन्सारीले तनहुँको भीमाद नगरपालिका वडा नं. १ वतन भएका ५१ वर्षीया सफिया मियाँको हत्या गरेको प्रहरीले जनाएको छ ।

अन्सारी र मियाँ घरधनी सरिता गिरीको घरको भुइँतलाको कोठामा मिति २०८० वैशाख १ गतेदेखि भाडामा बस्दै आएका थिए ।

अन्सारीको वतन भारतको बिहार राज्यको दरभङ्गा जिल्ला लालबाग थानामा पर्छ । अन्सारी र सफिया मियाँ कोठामा सँगै बस्दै आएका थिए ।

कोठामा करिब ३ महिनादेखि ताल्चा लागेको थियो । कोठामा दुबै जनाको आवतजावत बन्द थियो ।

कोठा बन्द अवस्थामा रहेपछि माघको ३ गते घरधनी सरिता गिरीले स्थानीय मानिसहरूको रोहवरमा कोठाको ताल्चा फुटाई हेर्दा सडेगलेको अनुहार समेत नचिनिने अवस्थाको महिला (सफिया मियाँ)को शव फेला परेको थियो ।

भारतीय नागरिक ईकरामुल हक अन्सारीले तनहुँकी सफिया मियाँलाई श्रीमती भनि बताउने गरेका थिए ।

सफियाको शव भुइँमा लडेको अवस्थामा देखेपछि तत्काल सरिता गिरीले प्रहरी वृत्त स्वयम्भुमा खबर गरेकी थिइन् ।

अनुसन्धानका क्रममा हत्याको अभियोगमा प्रहरीले भारतीय नागरिक ईकरामुल हक अन्सारीलाई माघको ३ गते राति साढे ८ बजेको समयमा कालीमाटीबाट पक्राउ गरेको छ ।

कालिमाटीस्थित दिलिप साहले संचालन गरेको बि.एन. फेसन नामको गार्मेन्टमा अन्सारीलाई फेला पारी पक्राउ गरेर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ ।

Published : Sunday, 2024 January 21, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया