बागमती कांग्रेसद्वारा साझा उम्मेदवारहरूसँग भेटघाट र छलफल

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका सन्दर्भमा निर्वाचन समन्वय समिति बागमती प्रदेशले भेटघाट तथा छलफल गरेको छ ।

समितिद्वारा शनिबार काठमाडौंमा आयोजित गठबन्धन दलका बागमती प्रदेश अन्तर्गतका मतदाता तथा उम्मेदवारहरूबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेताहरूले सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति संयोजक एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक, केन्द्रीय समन्वय समिति सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का उप–महासचिव बर्षमान पुन, केन्द्रीय समन्वय समिति सदस्य एवम् नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, नेकपा (माओवादी केन्द्र) बागमतीका अध्यक्ष सरल सहयात्री पौडेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष साबित्रा भुसाल, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सभा संसदीय दलका नेता एवम् मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश सभा संसदीय दलका नेता कृष्ण खनालको उपस्थिति रहेको थियो ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, नगरपालिका संघ बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्की, गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)को बागमती प्रदेश समितिका पदाधिकारी, नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवम् उप–प्रमुख लगायतको सहभागिता रहेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले कार्यक्रमको संयोजन गरेका थिए ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवारहरू जितजंग बस्नेत, विष्णुदेवी पुडासैनी, कृष्णप्रसाद अधिकारी र घनश्याम रिजालको पनि उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 January 20, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया