०८० सालभित्र सबै वडामा बिजुली बलेन भने कि विद्युतको हाकिम छैन, कि म छैन : सभापति खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाका सबै वडामा ०८० सालभित्र बिजुली बल्ने बताएका छन् ।

गृहजिल्ला ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौरमा शुक्रबार स्थानीय जनतासँगको अन्तर्क्रियामा प्रतिनिधिसभाका सांसद समेत रहेका खतिवडाले ०८० सालभित्र बिजुली बल्ने बताए ।

उनले भने, ‘श्रीचौर मात्र होइन । पात्ले–रावादेवी जाने बाटो प्रारम्भ गर्नुस् । श्रीचौर जाने बाटो प्रारम्भ भयो । ढिलो–छिटो पिच गर्ने कार्य यसै वर्षदेखि गर्छौं, रामपुर–श्रीचौर बाटोलाई ।’

‘पोल ल्याएर रापुरमा थन्किएका छन् । मैले विद्युत प्राधिकरणको हाकिम र ठेकेदारसँग आज बिहान कुरा गरेँ । उहाँले तीन दिनदेखि चार दिन ल्याएर काम सुरुवात गराउँछु भन्नुभएको छ’, खतिवडाले भने ।

‘श्रीचौरमा एक महिनाभित्र । उहाँले भनेको । दुई महिनाभित्र पात्लेमा भनेको छ । मैले भनेको छु । ०८१ सालको वैशाख १ गते श्रीचौरको प्रत्येक घरघरमा बत्ती बल्नुपर्छ । त्यो बत्ती बलेन भने कि बिद्युत प्राधिकरणको हाकिम छैन, कि हामी छैनौँ भन्ने प्रतिबद्धता तपाईहरूका अगाडि गर्न चाहन्छु’, सभापति खतिवडाले चेतावनी दिँदै भने ।

उनले भने, ‘पैसा कति चाहिन्छ भनेर मैले पटक पटक सोधेको छु । विद्युत कार्यालयको हाकिमलाई । पहिला एक अरब १९ करोडको टेण्डर गरेको थियो । पुग्छ यति भयो भने जिल्लाभरि भन्नुभयो । पुगेन भन्नुभयो । कति चाहियो भने ? २३ करोड चाहियो भन्नुभयो । टिप्पणी उठाएर गएको ३ दिनभित्र कुलमान घिसिङसँग गएर २३ करोड भनेको ठाउँमा २३ करोड ४६ लाख रुपियाँ बजेट स्वीकृत गराएँर पठाएँ । प्रत्येक पालिकामा उहाँले मागेको भन्दा दश लाख रुपियाँका दरले बजेट छुट्टिएको छ ।’

नेता खतिवडाले ०८० सालभित्र ७५ वटै वडाभित्र बिजुली पुर्‍याउने बताए । २०८४ सालमा एक पटक उठ्ने बताएका खतिवडाले बिजुली बाल्न वा सडक बनाउने कुरा लिएर भोट माग्न नआउने बताए ।

Published : Saturday, 2024 January 20, 7:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया