सशस्त्र प्रहरीकी बक्सिङ खेलाडी नीता मृत भेटिइन्

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाली (एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरू बक्सिङ खेल्दै आएकी २७ वर्षीया नीता गोसाई झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

नीतालाई मंगलबार राति ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

नीतालाई परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नीताको फागुन २ गते विवाह हुँदै थियो । जिल्ला प्रहरी परिसर भक्तपुरमा मृतकका परिवारले एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।

ती युवकले दिएको यातनाका कारण घटना भएको मृतकका आफन्तको दावी छ । अनुसन्धानका लागि प्रहरीले युवकलाई पक्राउ गरेको जनाएको छ ।

नीताले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा बक्सिङमा रजत पदक जित्न सफल भएकी थिइन् ।

Published : Thursday, 2024 January 18, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया