मीनभवन प्रहरीद्वारा काठमाडौंमा ९ जनाको समूह पक्राउ, अनुसन्धान गर्न टेकु प्रहरीलाई भ्याइनभ्याइ

काठमाडौं । गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालो बजारी गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको अभियोगमा ९ जनालाई मंगलबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको कोटेश्वर बस्ने रामेछापखाँडादेबी गाउँपालिका–२ घर भएका ३६ वर्षीय विनोदकुमार कार्की र सिन्धुलीकमलामाई नगरपालिका–७ घर भएका ४० वर्षीय लेखबिक्रम थापा तथा काठमाडौंको मूलपानी बस्ने रामेछापखाँडादेबी गाउँपालिका–२ घर भएका २८ वर्षीय मनोज खत्री, रामेछापमजुवा गाउँपालिका–३ घर भएका २३ वर्षीय महेश खत्री, रामेछापखाँडादेबी गाउँपालिका–२ घर भएका २० वर्षीय मनिस खत्री, सिन्धुलीकमलामाई नगरपालिका–९ घर भएका २८ वर्षीय गौरव तामाङ रहेका छन् ।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ घर भएका २७ वर्षीय मोहन खड्का, सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१ घर भएका १८ वर्षीय किशोर र काठमाडौंको कागेश्वरी मनोहरा–६ घर भएका ३५ वर्षीय सुमन नगरकोटी पनि पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–५ थलिस्थित विनोदकुमार कार्कीले भाडामा लिई बसेको कोठामा तलासी गरेको थियो ।

विनोदकुमार कार्कीको कोठाबाट नक्कली खुकुरी रम, गोल्डेन ओक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन गोल्ड मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरू, चिनी–पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, राजश्व अन्त शुल्कको स्टिकरहरू, लेवलिङ एवम् प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू लगायत अन्य विभिन्न सामग्रीहरू प्रहरीले बरामद गरेको थियो ।

उनीहरूले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू बनाई कालो बजारी गर्ने गरेको, अन्तरिक राजश्वको अन्त शुल्कका नक्कली स्टिकरहरू प्रयोग गर्ने गरेको, नक्कली मदिरा संचालकहरूले उक्त स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू प्रचलितबजार दरभाउ भन्दा कम मूल्यमा बेचविखन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । ९ जनाको समूह पक्राउ परेपछि टेकु प्रहरीलाई अनुसन्धान गर्न भ्याइनभ्याइ भएको छ ।

Published : Wednesday, 2024 January 17, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया