चालक अनुमपतिपत्र तत्काल दिनेबारेमा मन्त्री ज्वाला र लुम्बिनीका मन्त्री राणा परामर्श भेट, प्रदेश मन्त्रीहरूको बैठक हुने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला र लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा ज्वाला र राणाबीच लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानका विषयमा छलफल भएको हो । उनीहरूका बीच चालक अनुमतिपत सहज रुपमा तत्काल छपाइ गरेर कसरी दिन सकन्छि भन्ने विषयमा केन्द्रित भएर छलफल भएको मन्त्री राणाले बताएका छन् ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री राणाले प्रदेशभित्र चालक अनुमतिपत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरेका छन् । राणाले भने, ‘चालक अनुमतिपत्रका कारण लाखौँ सर्वसाधारणले दु:ख पाएका छन् । चालक अनुमपतिपत्र छपाइ गर्न पाउने हो भने लुम्बिनी प्रदेशभित्र तत्काल छपाइ गरेर दिनेछु । चालक अनमतिपत्रको समस्या समाधान गर्छु भनेर मन्त्रीज्यूसँग आग्रह गरेको छु ।’

भौतिक पूर्वाधारमन्त्री ज्वालाले लुम्बिनी प्रदेशका मन्त्री राणाको मागअनुसार सहसयोग गर्ने आश्वासन दिएका छन् । मन्त्री ज्वालाले चालक अनुमतिपत्र छपाइ र सहज रुपमा सेवाग्राहीलाई उपलब्ध गराउन कसरी सकिन्छ भनेर माघ महिनाको ६ वा ७ गतेसम्म सात प्रदेशका यातायात व्यवस्थामन्त्रीहरूलाई बोलाएर छलफल गरेर ठोस निर्णय गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री राणाले आफ्नो प्रदेशभित्र चालक अनुमपतिपत्र लिने क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने निर्णय गराइदिएका छन् ।

मन्त्री राणाको निर्णयले ट्रायल सेन्टरहरूको सवारी साधन मोटो रकम बुझाएर जबरजस्ती प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

मन्त्रीद्वय ज्वाला र राणाबीच भएको भेटवार्तामा लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयका सचिव उमेश ढुंगानाको पनि उपस्थिति रहेको थियो ।

चालक अनुमतिपत्र छपाइ र वितरणमा निकै ढिला सुस्ती हुँदा सेवाग्राहीले दु:ख पाएका छन् । मन्त्री राणाले लुम्बिनी प्रदेशभित्र चालक अनुमतिपत्र र यातायातको क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न सुरुवात गरेका छन् ।

Published : Tuesday, 2024 January 16, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया