माघी पर्वका अवसरमा लुम्बिनीका स्वास्थ्यमन्त्री खनालद्वारा शुभकामना व्यक्त

देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका मौलिक चाडपर्वले एकआपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

सोमबार मकर सक्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री खनालले आ–आफ्नै सांस्कृतिक महत्व बोकेका चाडपर्वले नेपालको विविधतामा सांस्कृतिक एकता कायम गरेको बताएका छन् ।

‘माघी पर्वबाट मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र संवर्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् प्रादेशिक एवं राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने हार्दिक शुभ कामना गर्दछु’, उनले भने ।

माघी पर्वलाई थारू समुदायले नयाँ वर्ष र सबैभन्दा ठूलो पर्वको रूपमा मनाउँदै आएको छ ।

मगर, गुरूङ्ग, ब्राहमण, क्षेत्री लगायतका समुदायमा पनि यस पर्वको छुट्टै महत्व रहेको उल्लेख गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति समेत रहेका स्वास्थ्यमन्त्री खनालले माघी पर्वको छुट्टै मौलिक पहिचान रहेको बताएका छन् ।

मन्त्री खनालले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा सम्पूर्ण लुम्बिनी प्रदेशवासी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

Published : Monday, 2024 January 15, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया