कांग्रेस सभापति देउवाद्वारा माघे संक्रान्तिको अवसरमा शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको अवसरमा शुभ–कामना दिएका छन् ।

सोमबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर नेपालका विभिन्न जातजातिहरूले विशेष पर्वका रुपमा मनाउँदै आएको माघे संक्रान्तिको अवसरमा शुभकामना दिएका हुन् ।

उनले नेपाल प्राचीन कालदेखि विभिन्न जातजातिहरूको बसोबासको संगमस्थल रहेकोले नेपाल विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वहरूको आफ्नो बेग्लै विशेषता रहेको जनाएका छन् ।

उनले एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको जनाएका छन् ।

‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका छन्’, सभापति देउवाले भनेका छन् ।

‘यी पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेका छन्’, उनले भने ।

‘मकर संक्रान्ति/माघे संक्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारु समुदाय लगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, देउवाले भने ।

Published : Monday, 2024 January 15, 12:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया