क्यासिनोमा जुवा खेलेर बाहिरिएका टोले गुण्डाहरूबीच खुकुरी हानाहान

काठमाडौं । विराटनगरमा रहेको बिग होटलमा रहेको सम्राट क्यासिनोमा जुवाखेलेर निस्किएका केटाहरूबीच झडप भएको छ ।

विराटनगर महानगरपालिका– ११ मा रहेको क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाहरूबीच खुकुरी हानाहान भएको छ ।

शनिबार बिहान साढे १ बजे युवाहरूका बीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । खुकुरी हानाहानमा विराटनगर उप–महानगरपालिका वडा नं. ११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् । कँडेलको टाउको र देब्रे कानमा चोट लागेको छ ।

घटनामा संलग्न झापाको घैलाडुब्बा घर भई हाल विराटनगर उप–महानगरपालिका वडा नं. ८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलिया पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता (डीएसपी) रन्जनकुमार दाहालले बताएका छन् ।

क्यासिनोभित्र विवाद गर्न थालेपछि युवाहरूको समूहलाई बाउन्सरले बाहिर निकालेका थिए । बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै युवाहरुबीच खुकुरी र हेल्मेट हानाहान भएको थियो ।

घाइते कँडेल र पक्राउ परेका थपलियाका साथी हुन् । दुवै जना अपराधिक पृष्ठभूमिका हुन् ।

सट्टेबाजीमा हारेको पैसा असुल्न विराटनगरका ‘पिन्टु’ भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा २०७७ सालमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

थपलियामाथि मिटरब्याजीको आरोप छ । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका अपराधिक पृष्ठभूमिका अभिषेक गिरी निकट हुन् । गिरीको नाम जोडेर थपलियाले व्यापारीहरूसँग फिरौती माग्ने गरेको आरोप पनि छ ।

जुवा खेल्ने क्रममा पैसा जित र हारको विषयलाई कँडेल र थपलियाबीच विवाद भएको प्रहरीले जनाएको छ ।

क्यासिनोमा जुवा खेल्न सँगै गएका किरण लिम्बूमाथि थपलियाले खुकुरी प्रहार गरेका थिए । थपलियाले प्रहार गरेको खुकुरीलाई लिम्बूले छलेका थिए ।

Published : Saturday, 2024 January 13, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया