भालुबाङ घटनापछि कांग्रेसद्वारा सडक दुर्घटना नियन्त्रण गर्न कार्यदल बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसले दाङको राप्ती नदीको पुलमा भएको दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै कार्यदल गठन गरेर सडक दुर्घटना नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

शनिबार शोक वक्तव्य जारी गरेर कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यदल गठन गठरेर सडक दुर्घटना नियन्त्रण गर्न आग्रह गरेका हुन् । उनले भने, ‘पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई नियन्त्रण गर्न/गराउन सरकारको ध्यानाकृष्ट गर्दछु ।’

दाङको देउखुरीस्थित भालुबाङमा रहेको राप्ती पुलमा १२ जनाको ज्यान जाने गरेर भएको दुर्घटनाप्रति देउवाले गहिरो दु:ख व्यक्त गरेका हुन् ।

सभापति देउवाले घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरूलाई उपचारका लागि उचित व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङस्थित राप्ती नदीको पुलबाट तल खस्दा १२ जनाको मृत्युको थियो । दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए ।

देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई सभापति देउवाले आग्रह गरेका छन् ।

Published : Saturday, 2024 January 13, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया