कांग्रेस नेतृ डा.राणाद्वारा तरुण अध्यक्ष गुरुङमार्फत जाजरकोटलाई २ ट्रक राहत सामग्री हस्तान्तरण

नेपालगञ्ज । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले भूकम्प प्रभावित जिल्लाका महिलाहरुलाई वितरण गरिने राहत सामग्रीहरु नेपाल तरुण दलमार्फत प्रभावित जिल्लाहरुलाई हस्तान्तरण गरेकी छिन् ।

शुक्रबार नेपालगञ्जमा आयोजित कार्यक्रममा सभापति डा.राणाले नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् । डा.राणाले डिग्निटी किट एवम् पौष्टिक आहारसहित झालाहरु हस्तान्तरण गरेकी छिन् ।

राहत सामग्रीको संख्या १ हजार, १८ प्रकारका सामग्री भएको किटको संख्या ५ सय र १५ प्रकारका सामग्री भएको किटको संख्या ५ सय राहत वितरण गरिएको छ ।

राहतका सामग्रीहरु जाजरकोट जिल्लाका भूकम्प प्रभावितहरुलाई वितरण गरिने नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिकाका नगर अध्यक्ष सन्दीप शाहले बताएका छन् । सभापति डा.राणाद्वारा हस्तान्तरण गरिएको दुई ट्रक सामग्री शुक्रबार नै जाजरकोटका लागि पठाइएको छ ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय बादशाह कुर्मी र माया पुन, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरु सरिन घिमिरे, मीनबहादुर शाही, स्मिता मोक्तान, सुनिल बस्नेत, लगायतको उपस्थिति रहेको थियो ।

राहत सामग्री वितरणका लागि सहयोग गर्ने संस्थाहरुमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौं, सुरक्षित मातृत्व सञ्जाल महासंघ काठमाडौं, सभापति डा.राणाको सचिवालय, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य फुड इन्डस्ट्री प्रा.लि. मोरङ र हिमालयन रि इन्स्योरेन्स प्रा.लि. काठमाडौं रहेका छन् ।

राहत सामग्री रहेका झोलामा ज्याकेट तथा टाउजर, उलनको मोजा, स्यानेटरी प्याड, बच्चाको ब्याङ्केट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, टुथ ब्रस, टुथ पेष्ट, नेल कटर, काइँयो, सरफ, सेम्पु, नहाउने साबुन र पोष्णयुक्त खानेकुरा रहेका छन् ।

Published : Friday, 2024 January 12, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया