कांग्रेस नेता लेखक संयोजक चयन, एमाले शून्य बन्ने सम्भावना


काठमाडौं । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० ले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई संयोजक चयन गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले कांग्रेसका नेता लेखकलाई संयोजक बनाउने निर्णय गरेको कांग्रेसका नेता केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० को संयोजकमा समिति सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गर्‍यो ।’

कांग्रेसले भनेको छ, ‘सात वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० र सतहत्तर वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–२०८० गठन गर्ने निर्णय गर्‍यो ।’

बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता मनीष सुमनको उपस्थिति रहेको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि सत्तापक्षीय गठबन्धन द्वारा २०८० माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका उम्मेदवारहरुलाई विजय गराउन विभिन्न लिखित निर्णय गरेको कांग्रेसका नेता जोशीले बताएका छन् ।

एमालेलाई हराउन र राष्ट्रिय सभा निर्वाचनमा धुलो चटाउन कांग्रेस, माओवादीसहितका दलहरुले गठबन्धनमार्फत उम्मेदवार बनाएका छन् । गठबन्धनले १९ सिटमा जित्यो भने एमाले राष्ट्रियसभामा शून्य हुनेछ । एमालेका अध्यक्ष केपी ओलीको अहँकारले राष्ट्रियसभामा एमाले शून्य हुने अवस्थामा पुगेको छ ।

Published : Wednesday, 2024 January 10, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया