सभापति डा.राणाद्वारा बाँदर नियन्त्रणका लागि पहल, तालिम लिन पशु चिकित्सक भारत पठाउने

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छिन् ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको जानकारी गराएपछि सभापति डा.राणाले बजेट बढाउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।

सभापति डा.राणाले बजेट बढाउनका लागि समितिले अर्थ मन्त्रालयमा अनुरोध गरेर पत्र पठाउने बताइन् ।

‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । मैले अर्थमन्त्री र सचिवलाई जहिले पनि भन्ने गर्छु कि यो लगानी हो, ५ रुपियाँ हाल्यो भने ५० रुपियाँ फल्छ, पैसा हाल्नुस्’, उनले भनिन् ।

‘कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेको छ, त्यसका लागि कम्तीमा पनि ५ प्रतिशत बजेटका लागि समितिबाट लबिङ गर्छाैं, समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ’, सभापति डा.राणाले भनिन् ।

कृषिमन्त्री भुसालले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्वि गर्नुपर्ने र यसका लागि कृषिमा भएका समस्याहरू निराकरण गरेर जानुपर्ने बताए । कृषिको आद्युनिकीकरणका लागि प्राविधिक जनशक्तिको अभाव रहेको र मन्त्रालय अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरिरहेको जानकारी मन्त्री भुसालले दिएका थिए ।

सभापति डा.राणाले संविधानको भावना र भोगाईबाट सिकेर ओएमएन गर्न अनुरोध गरिन् । ‘प्राविधिक नियामक विज्ञहरु केन्द्रबाट हुने र सेवा प्रवाह प्रदेश र स्थानीय तहबाट हुनेगरी व्यवस्थापन होस्’, उनले भनिन् ।

कृषिमन्त्री भुसालले १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र पाइपबाट नदी प्रणाली जोड्नुपर्ने धारणा राखेका थिए ।

सभापति डा.राणाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राखेकी थिइन् । ‘बाझो जमिनमा के गर्ने भन्ने कुरामा गाजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन् । समितिमा आएर प्रस्तुत गर्छु भन्नुभएको छ । केही समयपछि हामी प्रस्तुतिको वातावरण मिलाउँछौं’, डा.राणाले भनिन् ।

बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाइने

कृषि समितिले किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाउने भएको छ ।

यसका लागि सभापति डा.राणाले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गरेकी थिइन् ।

भारतीय दूतावासले समितिको अनुरोध स्वीकार गर्दै हिमाञ्चल प्रदेशमा बाँदर नियन्त्रणको प्राविधिक उपाय र बाँदरको बन्ध्याकरणबारे नेपाली भेटेरनरी डाक्टरलाई तालिमका दिने भएको हो ।

‘किसानको बाली र उत्पादन नष्ट गर्ने बाँदरलाई व्यवस्थापन गर्नका लागि नेपालका १० जना भेटेरनरी डाक्टरलाई मास्टर तालिम र ५ देखि १० जना रेन्जर र वन्यजन्तु स्काउटहरुलाई तालिमका लागि भारतको हिमाञ्चल प्रदेश पठाउँछौं’, सभापति डा.राणाले भनिन्, ‘यसका लागि पशुपक्षी सचिव र वन मन्त्रालयको सचिवसँग कुरा भइसकेको छ । एक डेढ महिनाभित्रै टोली पठाउँछौं ।’

बाँदरले किसानले लगाएको बालीलाई ठूलो क्षति गर्दै आएको छ । बाँदरले गरेको नोक्सानी नियन्त्रणमा सांसद, नेता र कर्मचारीहरुले झिनो आवाज उठाउने गरेका छन् । तर, जबरजस्त रुपमा कुरा उठाउने गरेका छैनन् । यस्तो अवस्थामा सभापति डा.राणाले बाँदर नियन्त्रणका लागि प्राविधिक रुपमा काम अगाडि बढाएकी छिन् ।

विधेयकको दफावार छलफल

समितिले प्रतिनिधिसभाबाट आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा दफावार छलफल मूल समितिमै गर्ने निर्णयसमेत गरेको छ । २५ भदौमा गठन भएको उपसमितिको समय सकिँदा पनि दफावार छलफल नभएपछि बुधबारको बैठकले मूल समितिमै छलफल अगाडि बढाउने निर्णय गरेको समिति सचिव शिवदत्त बरालले जानकारी दिएका छन् ।

Published : Wednesday, 2024 January 10, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया