मन्त्री रोज राणाद्वारा माण्डबीमा खेलकुदको उद्घाटन, आफैले अध्ययन गरेको विद्यालयमा सम्मान

मार्सीबाङ्ग । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले खेलकुदको क्षेत्रमा हार र जित हुनेभन्दै त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार प्यूठानको माण्डपी गाउँपालिकाको मार्सीबाङ्गमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले खेलकुदमा हुने हारजितलाई खेलाडीले सहज रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए । उनले खेलकुदले अनुशासन सिकाउने पनि बताए ।

मन्त्री राणाले आफूले खेलकुदको क्षेत्रमा गर्न सक्ने सहयोग गर्ने आश्वासन दिएका छन् । उनले मार्सीबाङ्गको खेलमैदालाई मर्मत सम्भार गर्नका लागि आवश्यक पर्ने सहयोग गर्ने पनि बताएका छन् ।

यसैबीच, मन्त्री राणाले आफू मन्त्री बनेर आएको धेरै समय नरहेको बताउँदै मन्त्रालयबाट हुने काम छिटोछरितो हुने बताए । उनले प्यूठान जिल्लामा यातायात व्यवस्था मन्त्रालय अन्तर्रागतको सेवा कार्यालय स्थापना गर्ने बताएका छन् ।

मन्त्री राणाले सकेसम्म प्यूठानमा सेवा कार्यालय राख्दा प्यूठान, रोल्पा, पूर्वी रुकुमले पनि सेवा दिन पाउने मन्त्री राणाले बताएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले खेलकुदको क्षेत्रमा सरकारले लगानी गर्नै पर्ने बताएका छन् । उनले माण्डपी गाउँपालिकाको खेलप्रतिको लगावको प्रशंसा गर्दै भविष्यमा बजेट निर्माण गर्दा सहयोग गर्ने बताएका छन् ।

यसअघि मन्त्री राणालाई बिजुवारको जनता आदर्श माध्यामिक विद्यालयले स्वागत र सम्मान गरेको थियो । जनता आदर्श माविमा मन्त्री राणाले हाइस्कुलसम्म अध्ययन गरेका थिए ।

विद्यालयपछि मन्त्री राणाले क्याम्पसमा पुगेर सहयोगको आश्वासन दिएका छन् । क्याम्पसका मागहरु लिखित रुपमा दिन पनि आग्रह गरेका छन् ।

Published : Wednesday, 2024 January 10, 1:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया