उपाध्यक्ष डा.लामासँग राजदूत सुदर्शनाद्वारा भेट, भैरहवा–श्रीलङ्का उडानको प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हाक्याल लामा (खेन्पो छिमे)सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिरानाले भेटवार्ता गरेका छन् ।

शनिबार लुम्बिनीमा उपाध्यक्ष डा.लामासँग राजदूत पाथिरानाले भेटवार्ता गरेका हुन् । डा.लामाले पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरेका छन् ।

डा.लामाले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताएका छन् ।

एयर फोर्स चिफमा रहेर काम गरिसकेका राजदूत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिबद्धता जनाएका छन् ।

उनले बुद्धजन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरू इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए ।

उपाध्यक्ष डा.लामा र राजदूत पाथिरानावीच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बर्द्धक बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।

राजदूत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदूत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका बिषयमा जानकारी गराए ।

राजदूत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भीम बस्नेतले समेत स्वागत गरेका थिए ।

राजदूत पाथिरानाले लुम्बिनीसँगै भैरहवास्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् ।

Published : Saturday, 2024 January 6, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया