शून्य हुने भएपछि राष्ट्रियसभामा छिर्न एमालेको नयाँ फण्डा, कांग्रेस अडानमा अडिग

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच राष्ट्रियसभा निर्वाचनको सिट भागवण्डाबारे छलफल भएको छ ।

बालुवाटारमा बुधबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको हो । ओली एक्लिएर राष्ट्रियसभा निर्वाचनमा औकात देख्ने भएपछि भाग माग गरेका छन् ।

तीन शीर्ष नेताहरूका बीच छलफल भएपछि सत्ता गठबन्धनका दलहरूबीच पनि एमालेले राष्ट्रिय सभाको निर्वाचनमा टिकटको भाग माग गरेको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री दाहालले एमालेका नेताहरूले आफूहरूलाई राष्ट्रियसभामा शून्य नबनाउनुस् भनेर माग माग गरेको बैठकलाई जानकारी गराएका छन् ।

एमालेले भाग माग गरेको विषयमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरूले विरोध गरेका छैनन् । एमालेको आधिकारिक धारणा माग गरिएको बुझिएको छ ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल २० फागुनमा सकिनेछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

कांग्रेस र माओवादी शीर्ष नेताहरूले एमालेले मागअनुसार सिट दिन नसक्ने बताएका छन् । कांग्रेसले कम संख्यामा चित्त बुझाउने पक्षमा छैन ।

सत्ता गठबन्धनको बैठक बिहीबार विहान ९ बजे बोलाइएको छ । यो बैठकले एमालेलाई पनि समेटेर जाने कि सत्ता गठबन्धनमा मात्र भागवण्डा गर्ने तय गर्नेछ ।

कांग्रेसका नेता रमेश लेखकले एमालेसँग राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको बताएका छन् । उनले भने, ‘एमालेसँग त राष्ट्रिय राजनीतिको समग्र विषयमा मात्र कुराकानी भएको हो ।’

माघ ११ गते सात प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुन लागेको छ । यो निर्वाचनमा एमाले शून्य अवस्थामा छ । एमालेका अध्यक्ष ओली निकै तनावमा छन् ।

सत्ताधारी दल मात्र मिलेर निर्वाचनमा सहभागी भए एमाले १९ सिटमै पराजित हुने भएपछि ओलीसमेत मिलेर जान अग्रसर भएका हुन् ।

एमालेले मिलेर जान प्रस्ताव गरे पनि कसरी मिलेर जाने भन्ने प्रस्ट धारणा आइसकेको छैन ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको जानकारी दिएका छन् ।

उनले भने, ‘एमालेबाट राष्ट्रिय सभा निर्वाचनमा एमालेको मनसाय आफूहरूलाई माइनस नगरियोस् भन्नेछ । सिट बाँडफाँडमा कुनै सहमति भएको छैन । बिहीबार बिहान पुन: बैठक बस्छ ।’

यसअघि, प्रधानमन्त्री दाहाल र ओलीबीच सोमबार बिहान बालुवाटारमा सुटुक्क भेटवार्ता भएको थियो । भेटका विषयमा दाहाल र ओलीले खुलाएका थिएनन् ।

Published : Wednesday, 2024 January 3, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया