अनेकौ किसिमका बाहान खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण खाेज्दैछन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।


साेमबार काठमाडौंमा आयाेजित ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा सभापति देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद दलहरूबिच मेलमिलाप रहेको बताए ।


‘वैचारिक मतभेद र पार्टीगत मतभेद छन् । तर हाम्रो देशमा सबै दलहरू एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको छ । यो सायद धेरै कम देशमा छ’, उनले भने, ‘मान्छेहरू छक्क पर्छन् । कांग्रेसको जन्म जयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू छक्क परेका हुन्छन् ।’


सभापति देउवाले प्रतिस्पर्धाका बाबजुद एकअर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेकाे बताए । ‘हाम्रो देशमा देखिएको एकता र मेलमिलापको संस्कारमा वीपी कोइरालाले ल्याएको नीतिको प्रभाव परेको मलाई लाग्छ’, उनले भनेका छन् ।


अहिलेको बेलामा देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाले बताएका छन् । ‘अनेकौ किसिमका बाहान खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा भएको छ । लोकतन्त्रको विकल्प केही हो भने अझ राम्रो लोकतन्त्र हो’, उनले भनेका छन् ।

गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने सभापति देउवाले बताएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै पार्टीको बीचमा सहमति छ, एउटा धारणा छ । त्यो नै अत्यन्त महत्त्वपूर्ण छ’, देउवाले भने, ‘उ बेला (२०३३ साल पुस १६) मेलमिलाप राजासँगको मात्र थिएन । सबैसँग मेलमिलाप हो । अहिले राजा हटिसकेको बेलामा पार्टीका बीचमा मेलमिलाप हुने भयो ।’

राजाफेरि फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्ने उनले बताएका छन् । ‘कसैले नसोचे हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एक हुनुपर्छ । हामी सबैले मिलेर अगाडि बढ्नुपर्छ भन्ने वीपी कोइरालाले दिएको सन्देश हो । हामी एक भएर जाऔँ’, उनले भनेका छन् ।

Published : Tuesday, 2024 January 2, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया