ललितपुरमा जिम्मेवारी पूरा गर्न नसक्ने निकम्मा सीडीओ र एसएसपीलाई कडा कारबाही

काठमाडौं । बालकुमारीमा दुई जनाको ज्यान जाने गरेर भएको घटनामा गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।

शनिबार ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख (एसएसपी) शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललाई बालुवाटारमा बिहानै बोलाएर जिम्मेवारी बहन गर्न नसक्नेहरुलाई फिर्ता बोलाउन आदेश दिएका थिए ।

शुक्रबार रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।

सरकारले ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले ललितपुरका सीडीओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने विषयमा प्रक्रिया अगाडि बढेको बताए । उनले भने, ‘सीडीओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने प्रक्रिया अगाडि बढेको छ । निर्णय गरेपछि भन्छु ।’

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई पनि सरकारले निलम्बन गरेको छ ।

प्रधानमन्त्री दाहालले शनिबारबाट काठमाडौंमा शुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बिहीबारको घटनामा काहीँ न काहीँ कमजोरी भएको बताएका छन् ।

दाहालले भने, ‘हाम्रो मन्त्रीजीको पीएसओले परिस्थितिको राम्रो आँकलन नगरिकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।’

दाहालले भने, ‘त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’

पानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षाा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्को अगाडि धर्ना र प्रदर्शन गरेका थिए ।

प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

Published : Saturday, 2023 December 30, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया